विराटनगर । प्रदेश १ का २ विमानस्थलबाट अन्तरप्रादेशिक उडान हुने भएको छ । प्रदेश–१ को राजधानी विराटनगर र झापाको भद्रपुर विमानस्थलबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म बुद्ध एयरले सिधा उडान भर्ने भएको हो ।
आइतबार साँझ विराटनगरमा आयोजित एक कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सातामा तीनपटकसम्मको उडान भर्ने तयारी भइरहेको जानकारी दिनुभयो । बस्नेतका अनुसार परीक्षण उडान आगामी डिसेम्बर १ तारिखदेखि गर्ने तयारी छ । परीक्षण उडान ६ महिनाको हुनेछ । पहिलो चरणमा काठमाडौंलाई ट्रान्जिट बनाएर उडान भरिनेछ । “हप्तामा २ सय यात्रु भए भने हामी सातामा ३ वटा सिधा उडान विराटनगर–पोखरा रुटमा भर्न सक्छौं,” उहाँले थप्नुभयो, “तत्कालका लागि काठमाडौंलाई ट्रान्जिट बनाएर उडान भर्नेछौं ।”
कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियैत सहभागी हुनुभएको थियो ।
मुख्यमन्त्री राईले अन्तरप्रादेशिक सिधा उडानले पर्यटनको विकासमा सहयोग पुग्ने बताउनुभयो । “एउटा सानो सपना पूरा भएको छ,” मुख्यमन्त्री राईले भन्नुभयो, “अब अर्को एउटा ठूलो सपना छ त्यो पनि पूरा हुन्छ भन्ने विश्वास छ ।” उहाँले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रदेश सरकारको सपना पूरा गरेरै छोड्ने बताउनुभयो । त्यसका लागि केन्द्र सरकारका पर्यटनमन्त्रीसहितको बैठक चाँडै विराटनगरमा बस्ने तयारी भएको जानकारी गराउनुभयो । मुख्यमन्त्री राईले यो उडानमा आउन सक्ने चुनौती भनेका प्रभावकारिता, नियमितता र दिगोपन भएकाले यसतर्फ एयरलाइन्सलाई सजक रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियैतले प्रदेश–१ मा पर्यटनका धेरै सम्भावना भए पनि काठमाडांर पोखरा आएका पर्यटकलाई यहाँसम्म ल्याउन सक्नुपर्ने बताउनुभयो । “भारतको बिहारमा आज हामीले सोचेभन्दा बढी आर्थिक वृद्धि गरिसकेको छ,” उहाँले भन्नुभयो, “त्यहाँका पर्यटकलाई ल्याउनेतर्फ प्रदेश सरकारको ध्यान गएको छ ।” त्यतिका जनसंख्या भएको विहारलाई मात्र आक्रषण गर्न सके पर्यटनको विकासमा धेरै टेवा पुग्ने उहाँको भनाइ थियो । मन्त्री कुिसयैतले नेपालीहरूमा पनि खर्च गर्ने बानीको विकास भइरहेकाले विराटनगर र भद्रपुरबाट सिधा पोखरा जाने यात्रु हुदैन कि भन्ने चिन्ता नगर्न आग्रह गर्नुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश–१ मा अहिले पनि १३ वटा विमानस्थल चालु अवस्थामा रहेको भन्दै पहाडी क्षेत्रतर्फका उडानलाई पनि प्राथमिकतामा राख्न नेपाल एयरलाइन्ससहित निजी एयरलाइन्सहरूलाई आग्रह गर्नुभयो । आन्तरिक पर्यटकको संख्या दिनानु दिन बढिरहेको भन्दै सेवालाई सहज बनाए उपयोग गर्नेको कमी नहुनेतर्क राख्नुभयो । उहाँले विराटनगरबाट भारतको दिल्लीका लागि सिधा उडानको समेत सम्भावना रहेको बताउनुभयो । “मैले नेपाल एयरलाइन्ससँग पनि कुरा गरें । तर सरकारी नै भएकाले धेरै कुरा नगरौं निजी क्षेत्रले यो उडान राख्ने हो भने राम्रै फाइदा हुन्छ,” उहाँले थप्नुभयो, “अहिले यो क्षेत्रबाट उपचार, शिक्षा र व्यावसायिक कामका लागि जानेको संख्या धेरै छ ।”
कार्यक्रम पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले यात्रु सिधा आउने र जानेभन्दा पनि कसरी विराटनगरमा एक रात भए पनि राख्न सकिन्छ भन्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । मुक्तिनाथ र बराहक्षेत्रलाई जोड्ने हो भने प्रदेश–१ को पर्यटन विकासमा बल पुग्ने उहाँको कथन थियो । “मुक्तिनाथमा अधिकांश बाह्य पर्यटकका दक्षिणी भारतबाट आउने गरेका छन्,” उहाँले भन्नुभयो, “मुक्तिनाथ आउने पर्यटकलाई बराहक्षेत्र ल्याउने वातावरण बनाउनुपर्छ ।” उहाँले विराटनगर–पोखरा पहिलो र पोखरा–विराटनगरको फ्लाइट अन्तिम राख्नुपर्नेमा जोड दिनुभयो ।
बाटा विराटनगरका अध्यक्ष फडिन्द्र अधिकारी, सञ्चारकर्मीलगायतले अन्तरक्रियामा भाग लिएका थिए । एयरका प्रबन्ध निर्देशक बस्नेतले आफू पनि प्रदेश–१ को बासिन्दा भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै विराटनगरवाट पोखराको सिधा उडान करिब ५० मिनेटको हुने बताउनुभयो । उहाँले अहिले भाडा दर तय नगरिसकेको जानकारी दिनुभयो । “हामी तयारीका क्रममा छौं, चाँडै भाडादर निर्धारण गर्नेछौं,” उहाँले भन्नुभयो । अहिले पनि दैनिक विराटनगर र भद्रपुरबाट काठमाडौं पुगेका यात्रु विमानस्थलबाटै पोखरा जाने गरेको र पोखराबाट काठमाडौं आएर सिधै विराटनगर र भद्रपुर आउने गर्छन् । बुद्ध एयरले हाल विराटनगर–काठमाडौं ८, काठमाडौं–पोखरा १० र भद्रपुर–काठमाडौं ३ वटा उडान भर्दै आएको छ । विराटनगरबाट अन्तरप्रादेशिक उडानका लागि लामो समयदेखि यस क्षेत्रका उद्योगी–व्यवसायी र राजनीतिक दलहरूले आवाज उठाउँदै आएका थिए ।