संरक्षणको पर्खाइमा धनपाल राजाको गढी

November 28, 2019     Paryatan Yatra

विराटनगर । विराटनगरको पुष्पलाल चौक हुदै विराट चौक जाने बाटोमा पर्ने नेता चौकबाट नहरैनहर करिब ६ किलोमिटर पूर्वकसेनी बजार पर्दछ  ।

कसेनी बजारदेखि पूर्वतर्फको करिब दुई किलोमिटर पैदल यात्रा गरेपछि धनपालगढी पुग्न सकिन्छ । यहाँ निजी सवारीसाधनको प्रयोग गरिएमा अझ सजिलोसँग पुग्न सकिन्छ ।

धनपालगढी पूर्व–पश्चिम राजमार्गमा पर्ने बेलबारी बजारको केही पूर्वबाट करिब ८ किलोमिटर दक्षिणमा पर्दछ । तसर्थ वैकल्पिक मार्गका रूपमा बेलबारीबाट पैदलयात्रा गर्दा दक्षिणतर्फ लाग्नुपर्दछ । सार्वजनिक यातायातका साधन नपाइने त्यस स्थानमा पुग्नका लागि बेलबारीबाट निजी सवारी साधन प्रयोग गर्न उपयुक्त हुन्छ ।

चारैतिर बस्तीले घेरिएको तथा करिब ३५ बिघा क्षेत्रफलमा फैलिएको धनपालगढी जंगलका रूपमा रहेको छ । जंगलभित्र नै धनपाल राजाको ऐतिहासिक गढीको अवशेष बाँकी रहेको देखिन्छ । यस स्थानको अन्वेषण र पुरातात्विक उत्खनन् गरिएको खण्डमा धनपाल राजाको किल्ला तथा दरबारको अवशेष पनि पाउन सकिने सम्भावना रहेको छ । गढी क्षेत्रमा जंगलभित्र नै धनपाल राजाले खनेका मानिने जम्मा ९ वटा पोखरीहरू रहेका छन् । तिनीहरूमध्ये ३ वटा पोखरीहरू भने अझै राम्रो अवस्थामा छन् । यसक्षेत्रमा बसोवास गर्ने थारु समुदायका मानिसहरूले हालसम्म पनि धनपाल राजाको मन्दिरमा आएर पूजाआजा गर्ने गरेको पाइन्छ । विगतमा धनपाल गढीमा रहेको मन्दिरभित्र पित्तलको हात्तीमा चढेको राजा धनपालको मूर्ति र ठूलठूला ९ वटा धण्टी भेटिएको स्थानीय बताउँछन् ।

धनपाल राजाको दरबार केही वर्षअघिसम्म रहे पनि अहिले भग्नावशेषसमेत बाँकी छैन । सम्पदाहरू लेप हुँदै जान थालेपछि अध्ययन अनुसन्धान गर्नेहरूले यो क्षेत्रलाई रोज्ने गरेका छन् । विवाहपछि नवदम्पत्तिले मेलाको बेला यहाँ रहेको पोखरीको बीचमा गएर पूजाआजा गर्नुपर्ने स्थानीयको मान्यता छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.