दुहवीमा ९३ करोडाको लगानीमा वाटरपार्क बन्ने

December 6, 2019     Paryatan Yatra

विराटनगर । सुनसरीको दुहवी नगरपालिकाले नमुना वाटरपार्क बनाउने भएको छ । पार्क निर्माणकालागि ९३ करोड रुपैयाँ भन्दा बढि लाग्ने अनुमान गरिएको छ । पार्कमा लगानी जुटाउने उदेश्यले दुहवी नगरपालिकाले विराटनगरमा एक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईदेखि उद्योगी व्यापारी सम्मको सहभागिता रहेको थियो । दुहवीका मेयर वेदनारायण गच्छदारले प्रदेश १ को राजधानीवाट सवै भन्दा नजिकमा रहेको नगरमा बन्न लागेको पार्कमा लगानी गर्न प्रदेश सरकार र निजी क्षेत्रलाई आग्रह गर्नु भयो ।

 कार्यक्रममा नगपालिकाले तयार पारेको वाटरपार्कसहित चारवटा प्रमुख आयोजनाको अवधारणा पत्र प्रस्तुतिकरण गरेको थियो । ९३ करोड ३१ लाख ५३ हजार रुपैयाँ लागत लाग्न सक्ने वाटरपार्क र आधुनिक हाटबजार, नगरप्रमुख आवास योजना र अत्याधुनिक रंगशालाको निर्माणबारे नगरपालिकाका इञ्जिनियर हेमनारायण माझीले छुट्टाछुट्टै प्रस्तुति गर्नु भएको थियो । झण्डै ९ विघा क्षेत्रफलमा निर्माण गर्ने तयारी गरिएको वाटरपार्कमा ७ सय र ३ सय जना अट्ने क्षमताको दुई वटा सभाहल, होमस्टे, पार्क, चिल्डे«न पार्क, स्वीमिङ पुल, वाटर फल लगायतका संरचना रहने छन् । परियोजनाको आर्थिक सम्भाव्यताबारे आर्थिक परामर्शकर्ता हेमन्त बस्यालले नगरपालिकाले अघि बढाएको परियोजनामा निजी क्षेत्रको संलग्नता, लगानी र प्रतिफलबारे अलग–अलग प्रस्तावहरू पेश गर्नु भएको थियो । ८ वर्षभित्र पूर्ण रुपमा सञ्चालनमा आइसक्ने परियोजनाका लागि लगानीको मोडलसमेत प्रस्तुत गरीएको थियो । कार्यक्रममा २० करोड ९६ लाखको लागतमा निर्माण गर्न लागिएको रंगशालाको ठेक्का प्रक्रिया अघि बढाइएको, हाट बजार निर्माणका लागि दुहवी–४ मा तीन विघा ७ कठ्ठा जग्गा व्यवस्थापन गरी १२ करोड २७ लाख रुपैयाँको परियोजना तयार पारिएको जानकारी दिइएको थियो । त्यसैगरी नगर प्रमुख आवास योजना अन्तरगत वडा नम्बर ११ तनमुनामा निर्माण गरिने १ सय १६ वटा घरहरूमध्ये ५० वटाको निर्माणका लागि तीन करोड ४५ लाख रुपैयाँमा बहुवर्षीय ठेक्काको प्रक्रिया अघि बढाएको जनाइएको छ ।कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले दुहवी नपाले अघि सारेका योजनामा प्रदेश सरकारले साथ दिने बताउनु भयो । ‘हामी साथ दिन्छौं, प्रदेश सरकार साथमा छ’ मुख्यमन्त्रीले भन्नु भयो ‘यो पार्कलाई हामी सबै मिलेर थाल्छौं, प्रदेश सरकार शेयरमा बस्न तयार छ ।’

नगरपालिकाले अगाडि सारेको वाटरपार्क प्रदेश १ कै प्रमुख पर्यटकीय पूर्वाधारका रुपमा विकास हुनेमा आफू विश्वस्त रहेको बताउँदै नगरपालिका, निजी क्षेत्र र प्रदेश सरकार साझेदारीमा बसेर परियोजनालाई अघि बढाउन तयार रहेको मुख्यमन्त्री राईको भनाइ थियो । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले दुहवीले अघि सारेका योजना अन्य स्थानीय निकायका लागि समेत नमुना हुने भन्दै निजी क्षेत्र हाते मालो गर्न तयार रहेको बताउनु भयो । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले लगानीको सुनिश्चिताका लागि निजी क्षेत्र र सर्वसाधारणले समेत सेयर किन्न सक्ने सम्भावना रहेको बताउनु भयो । उक्त वाटरपार्क निर्माण गरी सञ्चालन गर्न उद्योगी भोलेश्वर दुलालले आफू लगानीका लागि उत्साहित भएको बताउनु भयो । कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकास मन्त्री जीवन घिमिरेसहिते उद्योगी व्यवसायीहरूको उपस्थिति थियो ।

माथिका तस्विरहरु दुहवीमा बन्ने वटरपार्कका स्केज हुन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.