प्रदेश १ को पर्यटन सद्भावना दूतमा विभिन्न क्षेत्रमा ख्याति कमाएका ९ जना नियुक्त

December 13, 2019     Paryatan Yatra

 विराटनगर । प्रदेश १ सरकारले भ्रमण बर्ष २०२० को प्रवद्र्धन गर्न भन्दै विभिन्न क्षेत्रमा ख्याति कमाएका ९ जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ । उनीहरु प्रदेश १ का बासीन्दा हुन् ।

प्रदेश सरकारले १४ पटक सगरमाथा अरोहण गरेका कामिरिता शेर्पा, अन्य आरोहिहरु मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा, छाङ्दावा शेर्पा, अल्ट्रा धाविका मीरा राई, कलाकार दीपाश्री निरौला, ७ फिट ३ इन्च अग्ला राजन अधिकारी र पिङ्कीराज गरियालाई सद्भावना दूत नियुक्त गरेको हो ।  प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले प्रदेश १ को पर्यटन प्रवद्र्धनकालागि शुक्रवा काठमाडौंमा भएको कार्यक्रममा उनीहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सद्भावना दूतको प्रमाणपत्र प्रदान गर्नु भयो । 

उक्त अवसरमा मुख्यमन्त्री राईले प्रदेश १ लाई आधार बनाएर प्याकेजका कार्यक्रम ल्याउन पर्यटन ब्यवसायीहरु संग अग्रह गर्नु भयो । प्रदेश १ लाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अठोटका साथ प्रदेशस्तरीय पर्यटन गुरूयोजना बनाउने गृहकार्य भइरहेको मुख्यमन्त्री राईले बताउनु भयो । भ्रमण बर्षमा प्रदेश सरकारले प्रदेश १ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियैतले जनाकारी गराउनु भयो ।

कार्यक्रममा संघीय पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैको सकारात्मक सहयोगको आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा भ्रमण बर्ष प्रदेश समितिका सह संयोजक राजन श्रेष्ठ, सदस्यहरु भविश कुमार श्रेष्ठ, फडिन्द्र अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.