भेडेटार छिचोल्दै गुराँसको राजधानी

December 15, 2019     Paryatan Yatra

विराटनगर । भेडेटारको सौन्दर्यले भने मोहित तुल्याउँछ । धरानबाट उक्लिएर भेडेटार पुगेपछि जोकसैलाई चिसो सिरोटेले स्वागत गर्छ ।

बाह्रैमास चिसो हावा चल्ने भएकाले भेडेटार चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि प्रसिद्ध छ । भेडेटारको भ्यू टावर अर्थात चाल्र्स प्वाइन्टबाट सप्तकोशीको मनोरम दृश्य तथा पूर्वी तराईका फाँटहरू अवलोकन गर्न सकिन्छ । बेलायतका राजकुमार चाल्र्सले शैलुङ डाँडामा बसेर हिमशृंखलाहरूको अवलोकनका गरेकाले यो डाँडा चाल्र्स डाँडाको नामले परिचित भएको हो ।भेडेटारबाट अलि माथि उक्लिएपछि अग्र्यानिक गाउँ थुम्की र नाम्जे पुगिन्छ । ओझेलमा परेको नाम्जे गाउँ सिएनएनले समाज, संस्कृति एवं वातावरण समेटेर नसुनिएको उत्कृष्ट १२ गन्तव्य पार गरेपछि आन्तरिक पर्यटकहरूको नजरमा परेको हो । भेडेटारबाट ८ किलोमिटर तल झरेपछि नमस्ते झरना पुगिन्छ । करिब ८० मिटर माथिबाट खस्ने यो झरना अहिले सबैको आकर्षकको केन्द्र भएको छ । भेडेटारभन्दा केही पश्चिममा ऐतिहासिक साँगुरीगढी छ । यो धार्मिक पर्यटकहरूका लागि उपयुक्त गन्तव्य हुनसक्छ ।

अब अगाडि बढ्नुपर्छ, धनकुटालाई गन्तव्य बनाएर । धनकुटा आसपासमा पनि घुमफिर गर्ने ठाउँ प्रशस्तै छन् । जस्तो हिले, ध्वजे डाँडा आदि । धनकुटाको ध्वजेडाँडाबाट पहाडको सौन्दर्य अवलोकन गर्न सकिन्छ । डाँडाबजारको दृश्यका साथै तमोर नदीको नागबेली आकार र एसियाकै सबैभन्दा ठूलो वरको रुख पनि यहीँबाट देख्न सकिन्छ । यो अजङ्गको रुख २ सय ५० वर्ष पुरानो हो ।

धनकुटामाथि छ, हिले बजार । यहाँ पर्यटकहरूका लागि सुविधाजनक होटल तथा लजहरू उपलब्ध छन् । त्यसपछि यात्रा धनकुटालाई छाडेर र्तेहथुमतर्फ सोझिन्छ । र्तेहथुमलाई गन्तव्य बनाएर अघि बढेपछि तीनजुरे पुगिन्छ, जुन गुराँसका लागि प्रख्यात छ । यहाँ लालीगुराँस, चिमाल, सुनपातीलगायत अनेक प्रजातिका गुराँस पाइन्छन् । वसन्तपुर बजारको पूर्वतर्फ साँढेका जस्ता तीनवटा जुरो भएकाले यो डाँडालाई तीनजुरे भनिएको हो । यहाँबाट सूर्योदय तथा सूर्यास्तको मनोरम दृश्य नियाल्न सकिन्छ ।तेह्रथुमको फेदाप गाउँपालिकास्थित सम्धु र इसिबु क्षेत्रको सीमामा अवस्थित ह्यात्रुङ झरना एसियाकै अग्लो झरनाका रूपमा चिनिन्छ । ३ सय ६५ मिटर अग्लो यो झरना पुग्न भने पैदल यात्रा गर्नुपर्छ । पदयात्रा गर्न चाहनेहरूका लागि यो झरना सुन्दर गन्तव्य हो ।

छुटाउनै नहुने गन्तव्य भेडेटार, नाम्जे, हिले तथा पाख्रिबास धनकुटा । तीनजुरे, ह्यातुङ झरना तेह्रथुम ।

छुटाउनै नहुने स्वाद बंगुरको मासु तथा अकबरे खुर्सानी ।

ल्याउनैपर्ने कोसेली  धनकुटे बिस्कुट, अकबरे खुर्सानी ।

बसोबास र यातायात हवाई मार्गबाट विराटनगर हुँदै धनकुटा उक्लन सकिन्छ । कोशी राजमार्गसँगै जोडिएकाले भेडेटार हुँदै धनकुटा, हिले, तेह्रथुमको यात्रा एकैपटकमा तय हुन्छ । सुनसरीको धरानबाट १२ किलोमिटरको दूरीमा रहेको भेडेटार पुग्न करिब १५ मिनेट लाग्छ । धरानबाट नियमित रूपमा माइक्रो बस चल्ने भएकाले ओहोर–दोहोर गर्न त्यति र्गाहो हुँदैन । यहाँ हर्स राइडिङ, साइक्लिङ, प्याराग्लाइडिङ र नमस्ते झरनामा क्यानोनिङ गर्न सकिन्छ ।

यातायात, सञ्चार र होटल, रेस्टुराँ आदिको राम्रो सुविधा भएकाले यहाँ आउने पर्यटकहरूलाई खान र बस्न कुनै समस्या छैन । यहाँ केही होमस्टे पनि उपलब्ध छन् । यातायातको सुविधा भएकाले यो यात्रा त्यति महँगो हुँदैन । सुनीता मुखिया, नारी म्यागेजीङवाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.