प्रदेश–१ को निम्तो दिदै मेची–महाकाली यात्रा

January 3, 2020     Paryatan Yatra

विराटनगर । सरकारीस्तरबाट भ्रमण वर्षको उद्घाटन पुरानै शैली र ढर्रामा गरिरहेका बेला पाँचथरका एक हुल युवाको सहास भने निकै रोचक छ । लगातार आधा महिना मोटसाइकलको यात्रा गरेर मेचीदेखि महाकालीसम्म प्रदेश–१ मा घुम्न आउने निम्तो दिंदै ती युवा मध्यपहाडी लोकमार्गमा कुदिरहेका छन् । यो योजना कुनै तीनवटै सरकारले बनाएका हैनन् ।चियागफमा बनेको यो योजना प्रशंसायोग्य छ । उनीहरूको यो प्रयास स्थानीय सरकारदेखि प्रदेश सरकार मात्र हैन केन्द्र सरकारलाई पनि उदाहरण हुन सक्छ । त्यतिमात्र होइन हरेक नेपालीले यस्तै सोचका साथ कुनै न कुनै योजना बनाएर आफैले कार्यान्वयन गर्ने हो भने २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको सपना साकार हुने निश्चित छ ।

‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने उखान हाम्रो समाजमा सुन्न पाइन्छ । एकहुल युवा यतिबेला पूर्वको चिवाभञ्याङबाट सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को प्रचारमा ज्यानै दाउमा राखेर पश्चिमको झुलाघाटसम्मको यात्रामा निस्केका छन् त्यो पनि मोटरसाइकलमा । ‘नेपाल–यात्रा’ नाम दिएको यो अभियानको एउटै उद्देश्य छ, भ्रमण वर्ष २०२० को प्रचार गर्ने, एक नम्बर प्रदेश घुम्न निम्तो दिने । भ्रमण वर्षको पहिलो दिन पुस १६ गते फिदिमबाट हिंडेको टोली शुक्रबार खोटाङ सदरमुकाम दिक्तेल पुगेको छ । वर्षाको पनि प्रवाह नगरी उनीहरू आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन् । तर वर्षाको बाबजुत पनि उनीहरूको उत्साहमा कुनै कमी आएको छैन । “सकेसम्म आजको रात हलेसीमा बस्ने योजना छ,” पत्रकार गिरिराज बाँस्कोटाले भन्नुभयो, “घामपानी चिसो तातोले हाम्रो यात्रालाई प्रभावित पार्न सक्दैन भन्ने आत्माबल सबैमा छ ।”

नेपाल–भारतको सिमानामा पर्ने पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट जोड्ने राष्ट्रिय गौरव पुष्पलाल (मध्यपहाडी) लोकमार्गको मोटरसाइकल यात्राका लागि पाँचथरका ११ जना युवाहरूले सहास गरेका हुन् । टोलीमा राजनीतिकर्मी, पत्रकार, व्यवसायी, कर्मचारी र युवाहरू सहभागी छन् । दैनिक १ सय ५० किलोमिटर यात्रा गर्ने लक्ष्य लिएका उनीहरूले १५ दिनमा यात्रा पूरा हुने वताएका छन् ।

भ्रमण वर्षको प्रचार गर्ने र समुदायमा उत्साह जगाउने प्रमुख लक्ष्य रहेको यात्राका सहभागी हर्क नेम्बाङ (मिक्सो) ले बताउनुभयो । “मध्यपहाडी लोकमार्गको वारपार पहिलो पल्ट मोटरसाइकल भएर यात्रा गर्न लागेका छौं,” उहाँले थप्नुभयो,  “पर्यटन प्रवद्र्धनसँगै आर्थिक, सामाजिक, भौतिकलगायका अवस्थाको अध्ययन गर्ने छौं ।”

नेपालका २३ जिल्लाका २ सय १५ भन्दा बढी बस्ती छोएर झुलाघाट पुगिन्छ । मध्यपहाडी लोकमार्गका निर्माण अवस्थाको अध्ययन गर्ने, अन्य प्रदेशमा एक नम्बर प्रदेशका महत्वपूर्ण पर्यटकीय गन्तव्यको जानकारी गराउने, प्रचार सामग्री बाँड्ने, डकुमेन्ट्री निर्माण तथा पुस्तकसमेत प्रकाशन गर्ने लक्ष्य रहेको अर्का सहभागी सुमन लामाले बताउनुभयो । १ हजार ७ सय ७६ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले छुने सदरमुकाम र स्थानीय तहकोे केन्द्रमा अन्तरक्रियासमेत गरिने उहाँको भनाइ छ ।

यात्राका सहभागीहरू, हर्क नेम्बाङ, गिरिराज बाँस्कोटा, सुमन लामा, दीपक दुलाल, धनकुमार लावती, दीपक बोहोरा, पविन माखिम, रूपेन्द्र तामाङ, जलकुमार तामाङ, तुलाराम रिमाल र छवि चापागाईं ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.