पर्यटक लोभ्याउने हसिना सिमसार (फोटो फिचर)

January 9, 2020     Paryatan Yatra

विराटनगर । पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा जैविक विविधताको हिसाबले मोरङको सुन्दरहरैंचा५ स्थित हसिना सिमसार क्षेत्र महत्वपूर्ण छ ।इटहरी चोकबाट करिब ३ किलोमिटर पूर्व लागेपछि पुगिने बाँसबारी चोक र त्यहाँबाट करिब ५ किलोमिटर उत्तरतर्फको यात्रा गरेपछि यो रमणीय स्थलमा पुगिन्छ । यहाँसम्म पुग्नका लागि सुविधा सम्पन्न कालोपत्रे सडक छ ।

पैदल हिड्ने हो भने १ घण्टामा यहाँ पुग्न सकिन्छ । आफ्नो निजी सवारी साधनबाहेक बाँसबारी चोकबाट सिटी रिक्सा र टेम्पो सहज रूपमा पाइन्छ । सिमासार क्षेत्र भए पनि हसिनामा वनभोज आउनेहरूको संख्या धेरै छ । यहाँ प्रवेश गर्न प्रतिव्यक्ति २५ रूपैयाँ शुल्क तिर्नुपर्छ । वनभोजको टोलीलाई भने ठाउँअनुसार १ हजार र १ हजार ५ सय रूपैयाँ तिर्नुपर्ने हुन्छ ।

यो जंगलभित्र पानीको धारा, बिजुली बत्तीको समेत सुविधा भएका ३५ वटा वनभोज स्थल छन् भने ६० टोलीसम्म एकैदिन अटाउन सकिने ठाउँ छ । बढेमानको चिङपाजी, पोखरीमा नाग, गोही, बोटिङ मात्र हैन बालउद्यनसमेत बनाइएको छ ।

यहाँ मृगस्थली, नागपोखरी, स्वम्भूडाँडा, पश्चिम पोखरी, नयाँ पोखरी, जुरासिक पार्क, बोटिङ, खेल मैदान, बूढासुब्बा मन्दिर, साकेला थान, बुद्धविहार, शिवालय र बुद्धपोखरी पनि छन् । विराटनगरदेखि ३३ किलोमिटर उत्तरपूर्वमा अवस्थित सिमसार क्षेत्र लगभग ३२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । झट्ट हेर्दा पहाडका ससाना थुम्काहरू रहेको ठाउँजस्तो देखिने हसिना सिमसार क्षेत्र पहाड नभएर एउटा झोडा क्षेत्र हो । यो क्षेत्रमा जंगलको जरुवा पानी उम्रिएर जमेको छ र बाह्रै महिना पलाउने पानीले यहाँका प्राकृतिक पोखरी सधैं भरिभराउ छ ।

विभिन्न प्रकारका वनस्पति र जंगली जीवजन्तुहरू पाइने हुनाले जैविक विविधताको अध्ययन गर्न चाहनेहरूका लागि यो स्थल एउटा पुस्तकालयका रूपमा रहेको देखिन्छ । चारकोशे झाडीसँगै जोडिएको नमुना सामुदायिक वनभित्रका पर्ने हसिना सिमसार क्षेत्र पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण रहेको वडा नम्बर ५ का अध्यक्ष राम रिजाल बताउनुहुन्छ । यस क्षेत्रमा बँदेल, मृग, दुम्सी, खरायो, वनकुखुरा, सिमकुखुरा, बाँदरलगायत विभिन्न जातका वन्यजन्तु तथा पशुपंक्षीहरू पाइन्छन् ।

 

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.