वीपी–पुष्पलाल बाटिका आकर्षक गन्तव्य बन्दै

March 8, 2020     Paryatan Yatra

झापा । कुनैबेला यो ठाउँको छेउछाउबाट हिँड्ने मानिस हतारहतार नाक थुनेर बाटो कट्ने गर्थे । सकेसम्म त्यतापट्टि हेर्दैनथे पनि । तर, कुनैबलाको फोहोर फाल्ने त्यही ठाउँ अहिले सुन्दर पर्यटन गन्तव्य बनेको छ । अहिले ठाउँ त्यही हो उनै मानिसहरु एक छिनका लागि भएपनि मन खोलेर रमाउन त्यहाँ पुग्छन् । सपनाभित्रको पनि सपना जस्तो बनेको छ आज यो ठाउँ । मेचीनगर नगरपालिका  वडा नं. ६ को कार्यालय पनि त्यहीँ छ ।
गाविस डाँडाका नामले चिनिएको यो परिसर भनौँ या यो स्थान आज नेपालको राजनीतिक इतिहासका दुई महान् हस्ति वीपी कोइराला र पुष्पलाल श्रेष्ठको स्मरण गर्ने रमणीय स्थलका रुपमा धमाधम सिंगारपटार भइरहेको छ । यस क्षेत्रका स्थानीय अगुवाहरुको निरन्तरको लगन, इमान्दारिता र सत्कर्मको परिणाम नै हो आजको वीपी–पुष्पलाल बाटिका ।

स्थानीय होटल व्यवसायी राम तामाङलगायतका सामाजिक अगुवाहरुको अग्रसरतामा नपत्याउँदो पाराले मेचीनगरको मात्र नभएर पूर्वी सीमानाकै एउटा नमूना पर्यटन बाटिका बन्न पुगेको छ ।

मेचीनगर नगरपालिका वडा नं ६ को कार्यालय छेउमा रहेको वीपी–पुष्पलाल बाटिकाको सोच आउनु अघि यो स्थान काँकरभिट्टाकै अघोषित डम्पिङ्ग साइड जस्तो बनेको थियो । स्थानीयको भर÷अभरको फोहोर मिल्काउन सजिलो ठाउँ जस्तो बनेको यो ठाउँ आफैँ भिरालो जमिन परेको र ताप्रेघारीसँगै लागु औषधका दुव्र्यसनीको समेत बेलाबखतको सुरक्षितस्थल जस्तो थियो । तर, यहाँका सचेत अगुवाहरुले जब यसमा एउटा सुन्दर फूल फुलेको देखे तब यात्रा सुरु भयो वीपी–पुष्पलाल बाटिकाको ।

काँकरभिट्टाका स्थानीयको समेत गहनाको रुपमा रहेको यो बाटिका नगर क्षेत्रको एक सौन्दर्यको रुपमा त हुनेनै छ । यसका अलावा झापाकै आन्तरिक र यो नाका भएर आवतजावत गर्नेहरुका लागि समेत स्मरणयोग्य एउटा कोसेली जस्तो बन्ने देखिन्छ । भौगोलिक बनावट र यसमा गर्न सकिने कलात्मक सौन्दर्यीकरणले पनि वीपी–पुष्पलाल बाटिकाले जो कसैको ध्यान र मन खिच्ने गरेको बताउँछन् निमार्णको प्रारभ्मदेखिनै लागेका उपभोक्ता समितिका अध्यक्ष राम तामाङ । उनी भन्छन्–‘हिजोका दिनमा यही भूगोल असहजस्थल जस्तो बनेको थियो, आज यसको ठीक सौन्दर्यले सबैको मन तान्ने रमणीय स्थान बनेको छ ।’

एकातर्फ यो स्थलमा गरिएको अनुकूल सौन्दर्यको कलात्मक सिंगारपेटार र नेपालको राजनीतिक परिवर्तनका मुख्य हस्तिहरु वीपी र पुष्पलालको नामले समेत यसको महत्व बढाएको पाइन्छ । वीपी कोईराला र पुष्पलाल श्रेष्ठका अलवा नेपालको परिवर्तनका आन्दोलनमा जीवनको आहुती गर्ने सबै शहीदहरुको स्मरण गराउने सोच बाटिका उपभोक्ता समितिले लिएको बताउँछन् तामाङ । उनी भन्छन्–‘हामीले श्रद्धेय नेताहरु साथै, शहिदहरुको समेत स्मरणका लागि शहिद स्मृति बाटिकाको रुपमा समेत अघि बढाउने सोच बनाएका छौँ ।’

केही समययता मेचीनगर नगरपालिकाको वडा नं ६ कै मात्र कुरा गर्ने हो भने आन्तरिक पर्यटनका हिसाबले मात्र नभएर सीमा क्षेत्रमा निमार्ण भएका देवकोटा पार्क, वाटरफाउन्टेन पार्क र वीपी पुष्पलाल बाटिका यहाँको परिचय र सौन्दर्यका सुन्दर परिचायत्मक चिनारी बन्न पुगेका छन् । समग्र मेचीनगरकै कुरा गर्ने हो भने मेचीनगर क्षेत्र भौगोलिक हिसाबले समेत आन्तरिक र बाह्य पर्यटकका लागि उपयुक्त देखिन्छ । नगर क्षेत्रमा रहेका भौगोलिक हिसाबले पर्यटकको आकर्षण बढाउने स्थानको उपयुक्त पहिचान गरेर त्यसतर्फ सरोकारवाला पक्षले चासो राख्ने हो भने मेचीनगर नगरपालिकालाई पर्यटकको आकर्षणको थलो बनाउन सकिन्छ ।

स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाले पर्यटकीय क्षेत्र बन्न सम्भावना बोकेका स्थानहरुको खोजी तथा नगर क्षेत्रमा रहेका सरकारी र सार्वजनिक जमिनको खोज गरेर उपयुक्त स्थानमा अनुकूल ढङ्गका कलात्मक सौन्दर्यताको विकास गर्नसके नगरको आर्थिक विकासमा समेत ठूलो टेवा पुग्न जाने स्थानीय सामाजिक अगुवाहरुको कथन छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.