जिपलाइनमा एक सुपरवोमेनको यात्रा अनुभूति

March 14, 2020     Paryatan Yatra

सरला रेग्मी

धरानबाट २१ किलोमिटर उत्तरतर्फको यात्रापछि पुगिन्छ सुन्दर पर्यटकीय बजार भेंडेटार । समुन्द्र सतहबाट १ हजार ४ सय २० मिटर उचाइमा रहेको यो बजार पुग्ने जो कोही पनि लालायित हुन्छन् । सुन्दरताको व्याख्या यहाँ जति गरे पनि कम हुन्छ । पूर्वका सुन्दर स्थलमध्ये भेडेटार सबैभन्दा उत्तम हो भन्ने कुरामा दुईमत कसैको हुँदैन भन्ने मलाई लाग्छ । सुन्दरताका अलवा समय, मौसम र खर्चका कारण पनि यो बजार सबैभन्दा उपयुक्त छ ।

यहाँ पुगेपछि मन शान्त हुन्छ । शरीरमा स्फुर्ति भरिन्छ । यहाँको चिसोले जब शरीरमा स्पर्श गर्दछ त्यसपछि लाग्छ भेडेटार भनेको साँच्चिकै भेडेर रहेछ । चिसो हावासँगै आउने बाक्लो कुहिरोमा लुकामारी खेल्दाखेल्दै निथ्रुकै झरीले रुझेको धेरैलाई पत्तो नै हुँदैन । छिनछिनमा हुने मौसम परिवर्तन, घरी कुहिरो त घरी  पानी अनि एकैछिनमा घाम छेपारोले रंग फेरेभन्दा विचित्रको छ यो भेडेटार ।

भेडेटारसँगको साइनो मेरो निकै पुरानो हो । बाल्यकालदेखि यसको हावापानीसँग परिचित छु । हुन पनि मेरो बाल्यकाल यही भेडेटारको फेदीमा बितेको हो । धरानको बसाई भेडेटारका लागि टाढा र विरानो हैन । तर मलाई थाहा छ सानोमा स्कुलबाट भागेर भेडेटार पुग्दा होस् या घरमा बाआमालाई ढाँटेर साथीसंगीसँग जाँदा होस् । त्यहाँ पुगेको गनिसाध्य छैन । तर जति पटक गए पनि भेडेटार हरेक पटक मेरा लागि नयाँ र जाउँजाउँ लाग्ने स्थानमा पर्छ । हरेक पटक मेरा लागि भेडेटार प्रिय लाग्छ । हुन त बेलायतका राजकुमार चाल्स डेबिटलाई त मोहित पार्ने यो भेडेटारले मलाई के छोड्थियो होला र ? दक्षिण पूर्वमा रहेको नाम्जे गाँउ र त्यहाँको होमस्टे, डाँडामा रहेको आत्माघर, अलि तल झरेपछिको नमास्ते झरना यसका गहना हुन् । शिरमा रहेकी सानी पाथीभरा देवीले सबैको रक्षा गरेजस्तो लाग्छ ।

हो यी र यस्तै दृश्य बोकेर म यस पटक पनि भेडेटार उक्लेकी थिएँ । सधैं मलाई उत्साहित बनाउने भेडेटार यसपटक मलाई सहासिक बनाउन प्रतीक्षारत रहेछ । जब म भेडेटार पुगें, मेरो पहिलो रोजाइ विगतको भन्दा फरक थियो । म भर्खरै सुरु भएको जिपलाइनमा पुगें । केही दिनदेखि सञ्चार माध्यम र सामाजिक सञ्जालमा निकै छाएको जिपलाइनले मलाई तानिरहेको थियो । उद्घाटनकै दिन धरान उपमहानगरपालिकाकी उपमेयरले खेल्नु भएको देखेपछि मेरो मन निकै उत्सुक भएको थियो । यो साहसी खेल पुरुषका लागि मात्र हैन भन्ने मेरो मनमा पहिलादेखि नै थियो । त्यसलाई प्रमाणित उपमेयरज्यूले गर्नु भएको त थियो नै तर खेल्दाको मजा लिने पक्षमा म थिएँ ।

भेडेटारमा सञ्चालनमा आएको जिपलाइनमा सिङ्गल क्लासिक, कपल क्लासिक अनि सुपरम्यान गरी तीन साहसिक खेल खेल्न पाइन्छ । मेरो रोजाइ सुपरम्यान थियो । यस्म सुतेर दुवै हात फिजाएर चराझैं उड्न मन थियो । तर उड्न सोचे सजिलो कहाँ हुँदोरहेछ र । भेडेटार मौसमभन्दा चिसो मेरो मन चिसो भइसकेको थियो । सुरक्षागार्ड लगाउँदै गर्दा एक मनले सोचें डोरी चुडियो भने…? अर्को मनले सोचें दुनियाँले गरेको काम गर्न नसक्ने म लाछी महिला हैन । तथापि मनमा आँट भए पनि मुटुका धड्कनको बेग बढिरहेको थियो ।

दुवै आँखा चिम्लिनु मन लाग्यो । आँखा चिम्लन नपाउँदै म हावामा चरी जस्तै उड्न थालिसकेकी थिएँ । डरका अगाडि जित हुन्छ भन्ने कुरा याद आयो । म जित्न चाहन्थें डरलाई फेरि एकपटक डरलाई हराए । हात फिजाएर, ‘म पंक्षी हुँ’ भन्ने गीत गुनगुनाउन मन लाग्यो, जब बीचमा पुगें थोरै डरको मात्रा बढ्ला जस्तो भएको थियो । दुवै हात छातीमा राखें आफैंले आफैंलाई ढाढस दिएँ । जब ३५ सेकेन्ड पार गरेर ल्यान्डिङ पोइन्टमा पुगें आफैलाई आफैसँग खुसी लाग्यो । ६ सय ५० मिटर पार गर्न ३५ सेकेण्ड लागेछ । ३५ सेकेन्ण्ड जीवनको अत्यन्तै रोचक पल रह्यो  । त्यहाँ जिपलाइन हेर्न आएकाहरू भन्दै थिए– ‘उहाँले सुपरम्यान खेल्नु भएको हो ।’ मैले नि भनें– ‘पुरुषले खेल्दा सुपेरम्यान महिलाले खेल्दा सुपरवोमेन ।’

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.