‘मापदण्ड बनाएर होटल सञ्चालन गर्न देऊ’

June 7, 2020     Paryatan Yatra

विराटनगर । कोरोना भाइरसको संक्रमण फैलन नदिन लागू गरिएको लकडाउनका कारण सबैभन्दा बढी मारमा परेको भन्दै  होटल तथा ट्राभल व्यवसायीले व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गरेका छन् । उनीहरुले विभिन्न माग राख्दै आइतबार प्रदेश १ का मुख्यमन्त्री, पर्यटन मन्त्री र विराटनगर महानगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र वुझाए । अरु कतिपय क्षेत्रहरु सञ्चालनमा आउन थालेको भन्दै होटल तथा ट्राभल व्यवसाय सञ्चालनको वातावरण तयार गर्न सरकारसँग उनीहरुले माग गरेका छन् ।
होटल व्यवसायी महासंघ प्रदेश १ का कार्यबाहक अध्यक्ष भविशकुमार श्रेष्ठ, क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठ, विराटनगर एशोसिएशन अफ ट्राभल्स एजेन्ट (बाटा) का अध्यक्ष फडिन्द्र अधिकारी र वरिष्ठ उपाध्यक्ष ज्ञानमणि नेपालको टोलीले मुख्यमन्त्री शेरधन राई, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैतलाई ज्ञापनपत्र वुझाएका छन् ।
यसैगरी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई पनि उक्त टोलीले ज्ञापनपत्र बुझाएको छ । प्रदेश १ मा स्तरीयसहित करिब ३ हजारको संख्यामा साना तथा मझौला होटलहरु छन् । ती होटलमा करिब ५० हजार मजदुर कार्यरत रहेको प्रदेश समितिका कार्यबाहक अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
झण्डै अढाइ महिनादेखिको लकडाउनले होटल व्यवसाय सञ्चालन हुन नसक्दा मजदुृर, कर्मचारीको जिविकामै समस्या परेको श्रेष्ठको भनाइ छ ।
लकडाउनका कारण थला परेको होटल तथा ट्राभल व्यवसायलाई बचाउनका लागि विस्तृत कार्ययोजना तयार गरी लकडाउन अवधिको विद्युत् र पानीको महशुल छुट दिन माग गरिएको छ ।
यसैगरी व्यवसाय पूर्ण रुपमा सञ्चालनमा नआउँदासम्म घर भाडा ५० प्रतिशत छुट पाउनु पर्ने माग उनीहरुको छ । बैंकको किस्तालाई २ बर्षे बनाउनुपर्ने, ब्याजमा छुट दिनुपर्ने तथा २०२० का लागि लिएको ऋणलाई भ्रमण बर्ष २०२२ का लागि सरेकाले पुनर्कर्जाको व्यवस्था गर्न माग गरिएको छ ।
व्यवसायीहरुले सरकारसँग मजदुरका लागि सामाजिक सुरक्षा कोषबाट राहत प्याकेज घोषणा गर्न पनि माग गरेका छन् । उनीहरुले सरकारले व्यवसायीलाई घर कर र सम्पती करमा छुट दिनु पर्ने माग गरेका छन् ।
‘सबै क्षेत्र खुल्ने क्रममा छ,’ प्रदेशका कार्यबाहक अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अब होटलहरुलाई पनि निश्चित मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्छ ।’ व्यवसायीहरुले होटल सञ्चालनका लागि स्थानीय सरकारहरुले तालिमको व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् ।
प्रदेश १ का होटलहरुले सशुल्क क्वारेन्टाइनमा बस्न चाहनेहरुका लागि होटल खुला गरेका छन् । स्थानीय तहको समन्वयमा विराटनगरलगायत क्षेत्रका विदेशवाट आएकाहरु होटलमा बस्न थालेका छन् । होटल व्यवसायीहरुले लागत मूल्यमा आफ्ना होटलमा क्वारेन्टाइनमा बसेकाहरुलाई सेवा दिएको जनाएका छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.