प्रदेश सरकारको बजेट: पर्यटनमा १ अर्ब १९ करोड

June 15, 2020     Paryatan Yatra

विराटनगर । प्रदेश १ सरकारले पर्यटन प्रबद्र्धन र पूर्वाधार विकासका लागि १ अर्ब १९ करोड १० लाख विनियोजन गरेको छ । सोमवार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७÷७८ को बजेटमा यति रकम विनियोजन गरिएको हो । तर, बजेटको यो अंक अरु क्षेत्रको तुलनामा निकै कम हो ।
बजेट कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार एवं भविष्यमा आउन सक्ने विभिन्न महामारी नियन्त्रण गर्न अपनाइने कार्ययोजनाहरुमा केन्द्रीत छ । मन्त्री आङबोले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बार्षिक बजेट सदनमा प्रस्तुत गर्नु भएको थियो ।
बार्षिक बजेटमध्ये पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४५ हजार, चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार छुट्याइएको छ । यसैगरी अन्तर–सरकारी वित्त हस्तान्तरणतर्फ २ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश १ मा पर्यटन विकासको प्रशस्तै सम्भावना भए पनि प्रदेश सरकारको बजेटमा यसले खासै महत्व पाउन सकेको छैन । अन्य क्षेत्रको तुलनामा पर्यटन प्रबद्र्धन र पूर्वाधार विकासमा न्यून बजेट विनियोजन गरिएको छ ।
मन्त्री आङबोले प्रस्तुत गर्नुभएको १९३ बुँदाको बजेटमा पर्यटन क्षेत्रबारे बुँदा नम्बर १२२ मा समेटिएको छ । यसले पनि प्रदेश सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र परेको छैन भन्ने प्रष्ट हुन्छ । प्रदेश समृद्धिको मुख्य आधारमध्ये पर्यटन पनि रहेको भन्दै आएको सरकारले महामारीले सबैभन्दा बढी प्रभावित यो क्षेत्रका लागि राहत प्याकेज ल्याउन कन्जुस्याइँ गरेको छ ।
बजेटमा उल्लेख गरिएको मुन्धुम ट्रेल पदमार्ग निर्माण भने सकारात्मक छ । यसको निर्माणले गति लियो भने पर्यटन क्षेत्रका लागि एउटा उपलब्धि हुन सक्छ ।
यसैगरी सरकारले ‘आर्थिक समृद्धिको आधार, पर्या–पर्यटन, उद्योग र व्यापार’ भन्ने अवधारणाअनुरुप प्रत्येक जिल्लाको पर्यटकीय गुरुयोजना निर्माण र महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको पूर्वाधार विकासमा जोड दिने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रहरूको संरक्षण र विवेकपूर्ण उपयोग गर्दै पर्या–पर्यटनको गन्तव्यका रूपमा विकास गरिने भएको छ ।
सम्भाव्य पर्यटकीय गन्तव्यहरुको पहिचानका साथै प्रमुख पर्यटकीय स्थल, प्राकृतिक एवं ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल, राष्ट्रिय सम्पदा र उद्यानहरुलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा जोड दिइने बजेटमा उल्लेख छ । स्थानीय तहसँगको समेत सहभागितामा ग्रामीण विकासको लागि पदमार्ग पर्यटनको विस्तृत परियोजना तयार गरी कार्यान्वयनमा ल्याइने भएको छ ।
ऐतिहासिक एवं पुरातात्विक महत्वका दरबारहरु विजयपुर, चौदण्डीगढी, हतुवागढी, हिलिहाङ, विराट दरवार र किचकबधको संरक्षण र पूर्वाधारको निर्माणको लागि बजेट विनियोजन गरिएको छ ।
धार्मिक पर्यटकीय क्षेत्रहरु हलेसी, बराहक्षेत्र, टेम्के, माङसेबुङ, सिलौटी, लब्रेकुट्टी र पाथिभरा क्षेत्रहरुको संरक्षण, सम्बद्र्धन र पूर्वाधार निर्माण गर्न बजेट व्यवस्था गरेको अर्थमन्त्री आङबोले बताउनुभयो ।
विभिन्न कालखण्डमा भएका जनक्रान्तिका शहिद, बेपत्ताहरु, राजनेता, जननेताहरुको नाममा गठित प्रतिष्ठानहरुको पूर्वाधार निर्माण र मोरङको बेलवारीस्थित जनयुद्ध स्मृति संग्रहालय निर्माणमा सहकार्यका लागि बजेट छुट्याइएको छ । राजनीतिक, जातीय, क्षेत्रीय संग्रहालय निर्माणका लागि वजेट व्यवस्था गरिएको सरकारले जनाएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.