पर्यटन प्रवद्र्धनका लागि स्तम्भ फोटो प्रतियोगिता

July 11, 2020     Paryatan Yatra

धनकुटा । कोभिड–१९ ले पर्यटन क्षेत्र आक्रान्त बनेको छ । मानिसहरुको चहलपहल नभएकाले अधिकांश पर्यटकीय क्षेत्र सुनसन बनेका छन्। पर्यटन क्षेत्रलाई लकडाउनको यो अवधिमा ठूलो नोक्सान पुगेको छ । पर्यटन क्षेत्रको प्रचार, त्यस्ता क्षेत्रमा हुने गतिविधि प्रायः ठप्प छन् ।
यस्तो असहज अवस्थाका बीच पनि धनकुटा नगरपालिकाको ३ नम्बर वडाले भने पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने नयाँ शैली अपनाएको छ । ‘पर्यटन प्रवद्र्धन र विकासका लागि’ भन्दै वडा कार्यालय र विदेशमा रहेका युवाहरुको समुहलेडाले कागतीको स्तम्भको राम्रो तस्बिर खिच्नेलाई नगद पुरस्कार दिने घोषणा गरेको छ ।
यसरी खिचिएको तस्बिर वडाले आफ्नो फेसबुक पेजमा पोष्ट गर्ने छ जुन तस्बिरलाई सबैभन्दा धेरैले मन पराउँछन्, अर्थात् ‘लाइक’ गर्छन्, त्यो तस्बिर खिच्नेले २५ हजार रुपैयाँ नगद पाउनेछन् ।
गजबको छैन त प्रचारको यो तरिका ? पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने यो नयाँ तरिकाले धेरैको ध्यान तानेको छ । संक्रमण महामारीको असरले थला परेको पर्यटन क्षेत्रमा केही आशा जगाउन सकिन्छ कि भन्ने उद्देश्यले यस्तो जुक्ति अपनाइएको वडाध्यक्ष विकास घिमिरेले बताउनुभयो ।
कागतीको स्तम्भको राम्रो फोटो खिच्नेलाई पुरस्कार दिंदा एकातिर प्रोत्साहन हुने अनि अर्कातिर ठाउँको प्रचारमा सहयोग पुग्ने वडाको बुझाइ छ ।
छनोटमा हुने तस्बिरलाई २५ हजार नगद, पदक र प्रमाणपत्र दिइने छ । दोस्रो हुने तस्बिरले १५ हजार र तेस्रोले १० हजार नगद, पदक र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन चाहनेले ‘हाम्रो कागते’ नामको फेसबुक म्यासेन्जरमा तस्बिरहरु पठाउनु पर्ने जनाइएको छ । त्यसका लागि केही नियमहरु पनि बनाएका छन् । फोटो पठाउँदा नाम र ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । फोटोमा कागतीको स्तम्भ स्पष्ट चिनिने हुनु पर्ने जनाइएको छ ।
संकलन भएका तस्बिरहरु ‘हाम्रो कागते’ को फेसबुक पेजमा पोस्ट गरिने छ । पेजमा तस्बिर देख्नेहरुले मन पराएको संकेत ‘लाइक’ गर्नेछन्। जुन तस्बिरमा बढी ‘लाइक’ त्यसलाई पुरस्कृत गरिने जनाइएको छ । प्रविधिको प्रयोगबाट गरेको ‘अटोलाइक’ भने मान्य नहुने जनाइएको छ ।
प्रतियोगितामा सहभागी हुने पर्यटक, पाहुनाहरूलाई विषेश प्राथमिकता दिइनेछ । धनकुटा नगरपालिका बाहिरका लागि ३ जनासम्मको समूह फोटोमा १ जनालाई मान्यता दिइनेछ । स्तम्भका साथ प्रतियोगीको तस्बिर अनिवार्य हुनुपर्ने साथै उक्त तस्बिरमा भएकामध्ये प्रतियायोगितामा एकजनालाई मात्र सहभागीका रुपमा मानिने छ।
पहिलो, दोस्रो र तेस्रो सबै धनकुटा नगरपालिकाका सहभागी मात्रै भए तेस्रोको स्थानमा जिल्ला बाहिरका प्रतियोगीलाई समावेश गरिने छ ।
प्रतियोगिता असार २० गतेबाट सुरु हुने छ । तस्बिर पठाउने अन्तिम मिति साउन १५ गत सम्म राखिएको छ । साउन १९ गते राति १२ बजेसम्म तस्बिरमा आएका ‘लाइक’ हरु मात्रै गणना गरिने छ । बिजेताको घोषणा र पुरस्कार दिने मिति साउन २० बिहान प्रकाशित गरिने वडा कार्यालयले जनाएको छ ।
‘ग्रीन कागते, क्लीन कागते’ भन्ने नारालाई अघि सारेको उक्त वडाले आफ्नो भूगोललाई तीन भागमा विभाजन गरी विकासका योजना अघि बढाएको छ । कागते र निगाले क्षेत्रलाई ‘पर्यटन पकेट क्षेत्र’ घोषणा गरिएको छ । मालबाँसे, चाङलुङमा, सिलुङ र लाकुरे क्षेत्रलाई ‘बाख्रा पकेट क्षेत्र’ र सेउले र पात्ले क्षेत्रलाई ‘गाई, भैंसी पालन तथा नगदे वाली पकेट  क्षेत्र’ घोषणा गरिएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कागतेमा यसै वर्ष करिब ८ लाख ५० हजार रुपैयाँ खर्च गरेर बनाइएको कागतीको आकर्षक स्तम्भको प्रचारप्रसारमा लागेको वडाले नयाँ तरिका अपनाएको हो ।
धनकुटा बजारको देब्रेपट्टिबाट उकालो लागेको कोशी राजमार्गमा सल्लेरी बन हुँदै उत्तरतर्फको यात्रा जारी राखेपछि देब्रेवास आउँछ । त्यसपछि स्कुल डाडाँबाट अघि बढेपछि कागते पुगिन्छ । कागतेको पुरानो ढाटमा रोकिएपछि उत्तरतर्फ हेर्दा यो स्तम्भ देख्न सकिन्छ ।
पर्यटन प्रवद्र्धन साथै कागतेको पहिचान झल्काउने उद्देश्यका साथ यो पार्क बनाएको हो । उक्त स्तम्भमा तस्बिर खिच्ने अनि आफ्नो फेसबुक पेजमा शेयर गर्नेहरु त पहिल्यैदेखि प्रशस्त थिए । अबचाहिँ वडाले यो कार्यक्रम ल्याएसँगै स्तम्भको तस्बिर खिचेर प्रतियोगितामा सहभागी हुनेहरुको संख्या बढिरहेको छ । त्यहाँ पुगेर तस्बिर खिच्नेहरु उल्लेख्य हुने गरेका छन् ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.