होटेल-रेष्टुरेन्टको अनुगमन गर्न संयन्त्र बन्ने

July 22, 2020     Paryatan Yatra

काठमाडौं । सरकारले १५ साउनबाट होटेल तथा रेष्टुरेन्ट सञ्चालनको घोषणा गरेको छ । सञ्चालनका लागि भने उनीहरुले नेपाल पर्यटन बोर्डले बनाएको सेवा संचालन सम्बन्धी प्रोटोकल भने पालना गर्नुपर्छ ।

बोर्डले गत असार पहिलो साता प्रोटोकल बनाएर सबै सरोकारवालालाई पठाएको छ । त्यसको पालना कसरी गर्ने भन्ने सम्बन्धमा असारमै तलिम तथा अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ ।

१५ साउनबाट सेवा सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा प्रोटोकल लागु भए-नभएको विषयमा केन्द्रित स्तरबाट अनुगमन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल लागु गरे-नगरेको अनुगमनका लागि संयन्त्र बनाउन पर्यटन विभाग र नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । प्रदेश स्तरमा भने प्रदेश मन्त्रालयको नेतृत्वमा अनुगमन संयन्त्र बनाउन उनले निर्देशन दिएका हुन् ।

पर्यटन मन्त्रालयमा बुधबार सम्पन्न गत आवको वाषिर्क प्रगति समिक्षा तथा चालु आवको कार्यक्रमबारे छलफलमा मन्त्री भट्टराईले सेवा संचालनका दौरान अनुगमनमा जाने संयन्त्र विकास गर्न सरोकारवालालालाई निर्देशन दिएका हुन् ।

स्वास्थ्य र सुरक्षा सम्बन्धी सावधानी अपनाउने सम्बन्धमा मन्त्रालयले साउन १० गते भित्र समूहगत छलफल सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसपछि काठमाडौं उपत्यकामा पर्यटन विभाग र पर्यटन बोडले अनुगमन संयन्त्र बनाएर अनुगमन थाल्नेछन् ।

के-के नियम छन् होटेललाई ?

स्वास्थ्य प्रोटोकल अनुसार एक पटक पाहुना बसिसकेको कोठा कम्तिमा २४ घण्टासम्म खाली राखेपछि मात्र अर्को पाहुनालाई सोही कोठामा राख्नुपर्नेछ । अर्थातः एक पटकमा ५० प्रतिशत कोठा मात्र प्रयोगमा आउनेछन् ।

अब सबै होटेलले पाहुनाको यात्रा विवरण राख्नुपर्छ । सामाजिक दूरीका नियम अनिवार्य पालना गर्नुपर्छ । अनलाइन भुक्तानीलाई प्राथमिकता दिनुपर्छ । ‘नमस्कार’ अभिवादनलाई कार्यान्वयन गर्नुपर्ने गरी नियम बनाइएको छ ।

सम्भव भएसम्म होटेलले स्यानिटाइजर टनेलको व्यवस्था गर्नुपर्छ । कर्मचारी, पाहुना र सामान सोही नटेल हुँदै छिराउने व्यवस्था गर्नुपर्छ । होटेलले आकस्मिक अवस्थामा प्रयोग गर्ने गरी केही कोठा छुट्याउनु पर्छ । कोभिडको लक्षण देखिने पाहुनालाई तत्काल उक्त कोठामा सारेर अरुको सम्पर्कमा आउनबाट रोक्नुपर्छ ।

त्यसपछि ती पाहुना वा कर्मचारीलाई सरकारले तोकेको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था होटेलले मिलाउनुपर्छ । मास्क, पञ्जा, पिपिईजस्ता स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री र पोशाकको प्रयोग गर्नुपर्छ ।

अहिले सरकारले होटेलमा पार्टी, सभा, सम्मेलन तथा सेमिनार आयोजना गर्न बन्द गरेको छ । जिम, स्पा र प्लेरुमहरुसमेत तत्काल संचालनमा आउने छैनन् । होटेलको हलमा २५ जना भन्दा बढी मानिस जम्मा हुन पाइने छैन ।

होटेलहरुले सकेसम्म स्वदेशी उत्पादनको खपतमा ध्यान दिनुपर्छ । टाढाबाट यातायातको साधन प्रयोग गरी सामान ढुवानी गर्ने परिपाटीमा परिवर्तन ल्याउनुपर्नेछ ।

उता, रेष्टुरेन्टका लागि समेत बोर्डले नियमहरु बनाएर वितरण गरिसकेको छ । यस क्रममा स्वास्थ्य मन्त्रालयले सार्वजनिक रुपमा आहृवान गरेका नियमहरु पालना गर्नुपर्नेछ ।

सामाजिक दूरी, मास्कको अनिवार्य प्रयोग गरिएको छ । रेष्टुरेन्टमा काम गर्ने कर्मचारीले हरेक २० मिनेट वा एक पटक प्लेट उठाइसकेपछि साबुन पानीले हात धुनुपर्ने प्रावधान बनाइएको छ ।

ग्राहक छिर्नासाथ हात धुने व्यवस्था मिलाउनुपर्छ । अनलाइन पेमेन्टको सुविधा रेष्टुरेन्टले समेत प्रदान गर्नुपर्ने भएको छ । साभारM अनलाइन खबरवाट

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.