विहीबारदेखि होटल तथा रेष्टुरेन्ट खुल्दै

July 28, 2020     Paryatan Yatra

विराटनगर । विहीबारदेखि होटल तथा रेष्टुरेन्ट र पर्यटन खुल्दैछ । भदौ १ देखि लामो दूरीका सवारी साधनका साथै हवाईसेवा पनि शुरु गर्ने सरकारले यस अघि नै निर्णय गरी सकेकोे छ । यद्यपि अझै केही महत्वपूर्ण सार्वजनिकस्थलका साथै सभा सम्मेलन, भोजभतेर, सेमिनारलगायतका कार्यक्रम सञ्चालनको निर्णय हुन भने बाँकी नै छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र यातायात र पर्यटन व्यवसाय नै हो । छोटो दूरीका यातायात खुला भएको छ भने साउन ५ को मन्त्रिपरिषद निर्णयले यही साउन १५ देखि पर्यटन, ट्रेकिङ्, ट्राभल तथा पर्वतारोहण पनि खुला गर्ने निर्णय गरिसकेको छ ।

अघिपछि व्यवसाय नखुल्दा, बन्दाबन्दी जारी रहँदा मानिसको भीडभाड कम हुन्थ्यो । जोखिम कम थियो । साउन १५ देखि भने त्यो अवस्था रहँदैन । त्यसैले जति भीडभाड भयो उत्तिकै सावधानी पनि जरुरी छ । त्यसबेला व्यक्तिले मात्रै सुरक्षा मापदण्ड अपनाएर हुदैन । कुनै होटल सञ्चालन गर्नुप¥यो भने होटलका सबै क्षेत्रलाई सङ्क्रमणरहित (डिसइन्फेक्सन) गर्नुपर्छ । अन्य पर्यटन क्षेत्र, सेवा क्षेत्र होस् या अन्य व्यावसायिक क्षेत्रमा पनि यही मापदण्ड लागू गर्नुपर्छ । आउने र जाने मान्छेलाईसमेत ख्याल गर्नुपर्छ । उनीहरुले पनि स्वास्थ मापदण्ड अपनउनुपर्छ । तब मात्रै यसबाट जोगिन सकिने विज्ञहरुको भनाइ छ ।

सुरक्षित रहन एसएमएस अर्थात ‘सोसिएल डिस्ट्यान्स, सेनिटाइजेसन’ गर्ने र मास्क लगाउने कार्यलाई अनिवार्य शर्तको रुपमा राख्नुपर्छ । मानिसहरु ढोका खोल्नेदेखि समात्ने ठाउँ, कुर्सीमा बसेर टेबलमा कामगर्दासमेत मापदण्ड प्रयोग गर्नुपर्छ । ढोकामा स्यानिटाइजर लगाउँदैमा सुरक्षित हुन सकिँदैन । “त्यसलाई नियमित ‘डिसइन्फेक्टेड’ गरेर मात्रै सुरक्षित हुन सकिन्छ । एक पटक प्रयोग गरेपछि ८ घण्टासम्म काम गर्छ । त्यसपछि पुनः तोकिएको मापदण्डको रासायनिक प्रयोग गरेर ‘डिसइन्फेक्टेड’ बनाउनुपर्छ ।

होटल एशोसिएसन नेपालका अनुसार मुलुकका होटल क्षेत्रमा मात्र करिब रु १६ खर्ब लगानी छ । यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सात लाखभन्दा बढी जनशक्तिले रोजगारी पाएका छन् । यसबाट करिब २५ प्रतिशत विदेशी मुद्रा आर्जन हुने गरेको छ । कोभिड– १९ ले आर्थिक समृद्धिको आधार मानिने पर्यटन क्षेत्र नराम्ररी प्रभावित छ । प्रत्येक महिना यस क्षेत्रले कम्तीमा पनि रु एक अर्ब ८० करोड घाटा व्यहोर्दै आएको होटल एशोसिएसन नेपालका अध्यक्ष सृर्जना राणाको भनाइ छ । अन्य पर्यटनसँग जोडिने हवाई उड्डयन, सडक यातायात, ट्रेकिङ, घरबासकार्यक्रममा भएको आर्थिक क्षति अनुमान गर्न सकिन्न । अध्यक्ष राणाले सरकारले होटल व्यवसाय सञ्चलन गर्न दिने निर्णय गरेसँगै यसका आवश्यक जनशक्तिलाई तालीम दिएर तयार पारिएको पनि बताउनुभयो ।

यस्तो अवस्थामा खुला हुनलागेका व्यवसाय सेवा क्षेत्रमा स्वास्थ्य सुरक्षित पार्नु अर्को चुनौती हो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.