च्याङ्ग्रे पोखरीको संरक्षण गर्दै पौवादुङमा

July 30, 2020     Paryatan Yatra

 भोजपुरको  पौवादुङमा गाउँपालिकाले ऐतिहासिक एवं धार्मिक च्याङ्ग्रे पोखरी र पञ्चकन्या माध्यमिक विद्यालयको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको छ ।

गाउँपालिकाले पहिचानका रुपमा रहेको च्याङ्ग्रे पोखरीको बृहत्तर विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ डिपिआर तयार गरेको हो । डिपिआरअनुसार पोखरीको कूल निर्माण लागत रु दुई करोड १२ लाख ५९ हजार ७४ रहेको छ ।

पोखरीको क्षेत्रफल विस्तार गर्दै पोखरी परिसरमा पञ्चकन्या मन्दिरको निर्माण गर्ने, पानी वोट सञ्चालनमा ल्याउने, ढलको व्यवस्था गर्ने, बगैँचा निर्माण गर्ने, पानीको उचित व्यवस्थापन तथा सरसफाइसँगै घेरबार लगाउने लगायतका काम गरिने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिका केन्द्रमा रहेको पञ्चकन्या माविको पनि डिपिआर तयार गरेर काम अगाडि बढाइने भएको छ । विद्यालयको पुरानो स्वरुपलाई यथावत् राख्दै भौतिक संरचना निर्माण गरिने गाउँपालिकाले जनाएको छ । डिपिआरअनुसार विद्यालयका विभिन्न संरचना निर्माणका लागि रु एक करोड २७ लाख ५९ हजार लाग्ने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । सो विद्यालयलाई गाउँपालिकाको नमूना विद्यालयका रुपमा विकास गर्नेसमेत अध्यक्ष राईले बताउनुभयो ।

विद्यालयको गुणस्तर वृद्धि गराउनका लागि अभिभावकहरुसँग समन्वय गरेर आवासीय विद्यालय बनाइने अध्यक्ष राईको भनाइ छ । गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, “हामीले निर्माण गर्ने योजनामा राखेका पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम अगाडि बढाएका छौँ, हाम्रो योजनामा रहेका सबै क्षेत्रको विकासमा गाउँपालिकामा आएको बजेटले नपुग्ने भएकाले प्रदेश सरकार तथा केन्द्र सरकारसँग विस्तृत परियोजना प्रतिवेदन देखाएर रकमको माग गरिरहेका छौँ, गाउँपालिकामा आएको रकमले पनि कतिपय काम शुरु भइसकेका छन्, गाउँपालिकाको सबै क्षेत्रको विकासका लागि गुरुयोजनामा बनाएर काम गर्ने उद्देश्य भए पनि रकम अभावले मुख्य मुख्य क्षेत्रको छनोट गरेर छुट्टाछुट्टै डिपिआर तयार गरेर काम अगाडि बढाएका हौँ ।”

गाउँपालिकाले यसअघि पर्यटकीय क्षेत्र अरुणडाँडा, च्याङग्रे दृश्यावलोकन स्तम्भ, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मीरा राई रङ्गाशाला, सन्तानेश्वर महादेवलगायत क्षेत्रको डिपिआर तयार गरेर प्रदेश सरकार सँगको सहकार्यमा कतिपय ठाउँमा कामसमेत अगाडि बढाइसकेको छ । त्यस्तै गाउँपालिकाले किराँत दुङमाली भाषा संरक्षण मञ्चको पनि डिपिआर तयार गरिसकेको छ ।

दृश्यावलोकन स्तम्भ निर्माणका लागि रु ९२ लाख, सन्तानेश्वर मन्दिर निर्माणका लागि दुई करोड सात लाख र अरुणडाँडामा भवन निर्र्माण तथा अन्य संरचना निर्माणका लागि रु चार करोड ५० लाखको लागत बराबरको डिपिआर तयार गरेको हो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.