नेपालमा बन्यो विश्वकै लामो झोलुंगेपुल

August 2, 2020     Paryatan Yatra

काठमाण्डौं । विश्वकै लामो भनिएको झोलुंगेपुल औपचारिक रुपमा खुला गरिएको छ । पर्वत र वागलुंग जिल्ला जोड्न निर्माण गरिएको उक्त पुल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्वाधार विभाग मातहत सस्पेन्सन व्रिज डिभिजनले शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरेको हो । पुलको लम्बाई ५ सय ६७ मिटर छ ।

डिभिजनका योजना प्रमुख इन्जिनियर कुमार थापाका अनुसार स्विटजरल्याण्डको चाल्र्स कोनेन झोलुंगे पुल ४ सय ९४ मिटरभन्दा ७३ मिटर लामो पुलले पर्वत र बाग्लुंग जिल्लालाई जोड्ेको छ । स्थानीय पाङबाट बाग्लुंगको बांगेचौरसंग जोडिएको पुलले सो क्षेत्रको पर्यटकीय, धार्मिक, आर्थिक, सामाजिक र शैक्षिक गतिवीधिलाई सहज बनाउने ईन्जिनियर थापाको भनाइ छ ।

डिभिजनले मुलुकभर लामो र विशिष्ट प्रकारको झोलुंगेपुल निर्माण गर्दै आएको बताएका थापाले हाल निर्माण गरिएको पुल विकास निर्माणका क्रममा मुलुकमै फरक पहिचान बनाउन सफल भएको बताए । विश्वको पहिलोलामो झोलुंगे पुलको दाबी गर्दै थापाले पुल हेर्न र पर्यटन विकासका लागि समेत यसले भोलीका दिनमा विश्वलाई आकर्षित गर्ने बताँउछन् ।

कालीगण्डकी नदीको मालढुंगाको जमिन सहतबाट १ सय ३१ मिटर माथि पुल निर्माण गरिएपछि दुवै जिल्लामा पैदल आवतजावतका क्रममा लाग्ने समय कटौती भएको छ । विगतमा दुई जिल्लामा पैदल आहोरदोहर गर्न घण्टौ समय लाग्ने गरेको भएपनि पुलनिर्माणपछि अब सो यात्रा १५ मिनेटको रोमाञ्चक यात्रा हुनेमा सीमित हुने थापाको भनाइ छ । २०७५ फागुनमा दुइवर्षभित्र कार्य सम्पन्न गर्ने गरि श्रीथानी, वि.एल.टी, हिमशिखर जेभीसंग निर्माण सम्झौता भएको हो ।

यसक्रममा २०७६ साल बैशाख १ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले पुलको शिलान्यास गरेका थिए । १५ महिनाको समयमा निर्माण भइ प्रयोगमा आएको पुलमा ३ हजार ५ सय श्रमिकले प्रत्यक्ष रोजगारी पाएका थिए । एकपटकमा ६ सय १२ जना पदयात्रीको भार थाम्न सक्ने सो पुल निर्माणका लागि १० करोड ४५ लाख ० हजार ५ सय ८२ रुपैया खर्च भएको डिभिजनले जनाएको छ । पुल निर्माणमा १२ करोड २२ लाख १ हजार ९ सय ५७ रुपैया खर्च हुने अनुमान गरिपनि स्थानीय पूर्वाधार विभागबाट २ करोड १८ लाख ७४ हजार र निर्माण कम्पनीको ८ करोड २७ लाख ६ हजार ३ सय ८१ रुपैया खर्च भएको छ । यसअघि डिभिजनले ३ सय ५९ मिटर लम्बाईसम्मको एकल स्पान पुलको निर्माण गरेको थियो ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.