पर्यटन बोर्डले ल्यायो ८० करोडको बजेट

August 11, 2020     Paryatan Yatra

सुरज कुँवर

काठमाडौँ — विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण पर्यटक आगमन हवात्तै घटेपछि यसको असर नेपाल पर्यटन बोर्डको बजेटमा देखिएको छ । पर्यटन बोर्डको कार्यकारी समितिले सोमबार साँझ चालू आर्थिक वर्ष २०७७/७८ का लागि ८० करोड ७१ लाख लक्ष्यसहितको बजेट ल्याएको छ । 

बोर्डका सीइओ धनञ्जय रेग्मीका अनुसार चालू आर्थिक वर्ष ०७७/७८ मा २ लाख पर्यटक आउने प्रक्षेपण गरिएको छ । यो गएको आर्थिक वर्षको दाँजोमा ६ लाखले कम हो । बोर्डले ती पर्यटकबाट २० करोड ६२ लाख रुपैयाँ हाराहारी आम्दानी हुने प्रक्षेपण गरेको छ । कूल बजेटको २६ प्रतिशत हो । बोर्डको मूख्य आम्दानीको स्रोत मानिने यो रकम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रति विदेशी १ हजार रुपैयाँका दरले पर्यटन सेवा शुल्कका रुपमा वायुसेवा कम्पनीले संकलन गरेर बोर्डलाई बुझाउने गर्छन् ।

यसबाहेक बोर्डको अर्को मूख्य आम्दानीमा पदयात्रामा जाने पर्यटकबाट उठाइने टिम्स (पदयात्री, पर्यटन, सूचना व्यवस्थापन) शुल्क र निजी क्षेत्रलाई विदेशमा हुने मेलामा सहभागी गराउँदा संकलन हुने आय हुन् । बोर्डले टिम्सबाट ३ करोड ११ लाख संकलन हुने प्रक्षेपण गरेको छ । त्यस्तै हल भाडालगायत विविध स्रोतबाट बोर्डले ८४ लाख मात्रै संकलन हुने जनाएको छ ।

पर्यटक आगमन अझै घट्ने सम्भावना रहेकाले यीबाहेक सरकारबाट प्राप्त हुने तथा अन्य स्रोतलाई पनि बजेटमा राखिएको छ ।

 

बोर्डले पहिलोपटक बैंकमा रहेको सञ्चित ४० करोड रकम पनि झिक्ने निर्णय लिएको छ । ‘बैंकमा राखिएको रकम पनि झिक्नु पर्ने अवस्था आयो,’ रेग्मीले भने, ‘त्यसैगरी पहिलोपटक संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) सँग सहकार्य गर्ने निर्णय भएको छ ।’ जसअन्तर्गत बोर्ड र यूएनडीपीले ४ वर्षमा ५० करोड रुपैयाँ खर्च गर्ने छन् ।

त्यसैगरी पर्यटनमा आश्रित मजदुरका लागि बोर्डले ट्रेकिङ एजेन्सीज एसोसिएसनसँग सहकार्य गर्न १५ करोड बजेट छुट्याएको छ ।

२०७६/७७ मा भम्रण वर्ष २०२० घोषणा भएकाले १ अर्ब ६३ करोडको बजेट बनाइएको थियो । बोर्डको सञ्चालक समितिका एक सदस्यका अनुसार, ‘कोरोनाको महामारीका कारण आएको मन्दिले ८१ करोड रुपैयाँमात्रै सकंलन भएको छ । जसमा बोर्डले ६८ करोड खर्च गरेको छ । ‘यो वर्ष पनि हामीले प्रक्षेपण गरेको भन्दै निकै आम्दानी कम हुने सम्भावना छ,’ ती सदस्यले भने, ‘किनकी कोरोना माहामारी जारी छ के हुने हो अन्दाज गर्न सकिने अवस्था छैन ।’

धेरैपछि समयमै बजेट ल्याउन सफल भएको बोर्डले यसपटक नेपालको प्रचार सीएनएन र बीबीसीमा गर्ने कार्यक्रम राखेको छ । ‘पहिला पहिला बजेट बिनियोजन हुन्थ्यो तर प्रचार गरिदैनथ्यो । यसपटक विदेशी मिडियामा प्रचार गरिने छ,’ रेग्मीले भने ।

पर्यटन सचिव केदारबहादुर अधिकारी अध्यक्ष रहेको बजेट बैठकले बोर्डलाई सबै प्रदेशमा बिस्तार गर्ने भएको छ । यसका लागि १ करोड ७० लाख बजेट बिनियोजन गरिएको छ । ‘पोखरामा पहिल्यै शाखा थियो,’ सीइओले भने, ‘वागमती प्रदेशलाई केन्द्रबाट हेरिने छ बाँकी प्रदेशमा बोर्डको शाखा बिस्तार हुने छ ।’ नेपालबाट आरोहण हुन नसकेको चोयू हिमाल आरोहणका लागि मार्ग बनाउन बजेट बिनियोजन गरिएको छ । साभार इकान्तिपुरवाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.