पर्यटनमा सहकार्य खोज्दै पोखरा

December 18, 2020     Paryatan Yatra

दीपक परियार

पोखरा  । कोरोना कहर नहुँदो हो त अहिलेकै अवस्थामा पोखराका होटलमा आन्तरिक पर्यटकको अकुपेन्सी ४० प्रतिशत हुन्थ्यो । आन्तरिक र विदेशी जोड्दा अकुपेन्सी दर ८० प्रतिशत पुग्थ्यो । हाल यो दर १० प्रतिशत मात्रै रहेको यहाँका होटल व्यवसायी बताउँछन् ।

पोखरामा क्रियाशील पर्यटनसम्बद्ध संस्थाले वर्षैपिच्छे प्रवर्द्धनात्मक कार्यक्रम गर्छन् । देशका विभिन्न स्थानमा पुगेर पोखरामा पर्यटक डाक्छन् । यस्तो कार्यक्रम गर्न पोखराका पर्यटन व्यवसायी भारत, चीन, भुटान, बंगलादेश, सिंगापुर, मलेसिया, थाइल्यान्ड, मलेसिया, अस्ट्रेलिया, क्यानडासम्म पुग्छन् । यसमा व्यवसायी स्वयंले पनि खर्च गर्छन् । पर्यटन बोर्डले प्रवर्द्धनात्मक कार्यक्रममा सघाउँछ ।

यसपल्ट कोभिड–१९ का कारण प्रवर्द्धनात्मक कार्यक्रम लिएर पोखराका पर्यटन व्यवसायी देशभित्रै घुमेका छन् । नयाँ गन्तव्य पहिचान गर्ने र अन्य प्रदेशमा रहेका पर्यटनसँग सम्बन्धित संघसंस्थासँग सहकार्य गरी पर्यटन पुरुत्थान गर्ने भ्रमणको उद्देश्य हुन्छ । नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पर्यटन पुनरुत्थानकै लागि गत मंसिर १७ देखि २० सम्म गोरखा र तनहुँका पर्यटकीय स्थलको अवलोकन गर्‍यो । उक्त टोलीले गोरखाको मनकामना, सहिद लखन जन्मस्थल, गोरखा दरबार, भूकम्पको इपिसेन्टर बारपाक, गुप्सीपाखा नमुना बस्ती, ऐतिहासिक स्थल लिगलिगकोट, तनहुँको बन्दीपुर, मानुङकोट र भुजीकोटको चार दिने फाम ट्रिप गरेको हो ।

भ्रमणको उद्देश्य पर्यटन क्षेत्रलाई चलायमान बनाउनु नै भएको प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देल बताउँछन् । ती गन्तव्य समेट्दा ऐतिहासिक, धार्मिक र भूकम्प पर्यटनमा गोरखा, लमजुङ र कास्की जोडिने उनको भनाइ छ । पर्यटन बोर्डसँगको सहकार्यमा भएको भ्रमणपछि यी गन्तव्यलाई समेटेर टुर प्याकेज बनाउने नाट्टाको तयारी छ । ‘यी गन्तव्य स्थलका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच सहकार्य हुँदा आन्तरिक पर्यटनले अर्को फड्को मार्छ । विदेशी पर्यटकको आगमन अघि तयारी जस्तो पनि हुन्छ,’ उनले भने । पश्चिमाञ्चल होटल संघले हरेक वर्ष ‘जाऊँ है पोखरा’ अभियान नै चलाउँछ । पर्यटन बोर्डसँगको सहकार्यमा मंसिर २४ देखि २७ सम्म पूर्वी नेपाल पुगेर संघले यो अभियान चलायो । चार दिनको भ्रमणमा जनकपुर, वीरगन्ज, विराटनगर र चितवन समेटिएका थिए । टोलीले त्यहाँका होटल, रेस्टुरेन्ट व्यवसायी, प्रदेशका पर्यटन मन्त्रालयका प्रतिनिधिलगायतसँग छलफल गरेको थियो ।

कोभिड–१९ बाट नराम्रोसँग प्रभावित पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन आपसी सहकार्यका लागि पूर्वी नेपाल र पोखराका पर्यटन व्यवसायी एकमत देखिए । व्यवसायीबीच सहकार्य गरेर प्रवर्द्धन अभियान सञ्चालन गर्दै पर्यटन पुनःस्थापना गर्ने संघका अध्यक्ष एवं पर्यटन पुनरुत्थान समिति गण्डकी प्रदेशका सहसंयोजक विकल तुलाचनले प्रस्ताव राखे । ‘दिगो पर्यटनका लागि पूर्वाधारको जरुरी हुन्छ,’ उनले भने, ‘सिमरा, जनकपुर र विराटनगरलाई हवाई सेवामार्फत पोखरासँग जोड्न जरुरी छ ।’ पर्यटकीय सेवा सुविधामा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको उनले भ्रमणमा बताए । नेपाल पर्यटक यातायात व्यवयासी संघ (एनटीभीए) गण्डकीले मंसिरकै अन्तिम साता तीनदिने धार्मिक पर्यटन पुनरुत्थान परिचयात्मक भ्रमण गर्‍यो । पाल्पाको तानसेन, नवलपरासीको रामग्राम, नवलपुरका त्रिवेणीधाम, गजेन्द्रमोक्षधाम, सास्वत धाम, कैलाश आश्रम, चितवनको वाल्मीकि आश्रम, तनहुँको देवघाटलगायतका स्थानको भ्रमण संघले गरेको हो । सरोकारवालासँगको छलफलले आगामी दिनमा ती स्थानमा पर्यटकीय साझेदारी बढ्ने विश्वास जगाएको संघका गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङको भनाइ छ ।

‘त्रिवेणी धामदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थललाई समेट्दै विकास गर्न सकेमा राम्रो उपलब्धि हासिल हुन्छ,’ उनले भने, ‘आवागमन सहज बनाउन सडक सञ्जाल चाँडै जोडिनुपर्छ । पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी पर्यटनमा हरेक समस्यासँग जुध्दै अगाडि बढ्नुको विकल्प नभएको बताउँछन् । कोरोना महामारी अझै नसकिएकाले स्वास्थ्य सुरक्षा मापदण्डमा भने ख्याल पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

व्यवसायीलाई राहत दिन सरकारले ल्याएको मौद्रिक नीतिको निष्पक्ष कार्यान्वयन हुनुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् । पोखराका पर्यटकीय गन्तव्य एक साताभित्र खुल्ने भएकाले वरपरका गन्तव्य पनि खोल्न संघ, प्रदेश र स्थानीय तहले पहल गर्नुपर्ने उनको तर्क छ ।

पोखराको पर्यटनमा ‘ब्रान्ड’ बनेको पोखरा सडक महोत्सवले निरन्तरता पाउने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा लेकसाइडमा हुने यो महोत्सव यसपल्ट भने फरक स्वरूपमा हुनेछ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले २२ औं संस्करणको पोखरा सडक महोत्सव पुस १५, १६ र १७ मा गर्ने भएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सडक महोत्सवलाई निरन्तरता दिने पत्रकार सम्मेलनमार्फत रेवानले जनाएको छ । महोत्सव पाँच दिनबाट तीन दिनमा झरिएको छ । महोत्सवका संयोजक वसन्त गौतमका अनुसार यसपल्ट पनि लेकसाइडको हल्लनचोकदेखि वसुन्धरापार्कसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । कोमागाने पार्कमा भने पहिलेजस्तो फान पार्क, लोकदोहोरी र राति लाइभ कन्सर्ट यसपल्ट हुने छैन ।

तीन किलोमिटर क्षेत्रलाई ३ बजेबाट १० बजेसम्म ‘नो भेहिकल जोन’ बनाइनेछ । उक्त क्षेत्रमा तीन स्थानमा स्टेज राखेर सांस्कृतिक कार्यक्रम हुनेछन् । ठाउँठाउँमा कोभिड–१९ सम्बन्धी डिस्प्ले बोर्ड राखिनेछन् । डुंगा दौड, टेनिस टुर्नामेन्ट, तारो हान्ने खेल, बिच भलिबल प्रतियोगिता महोत्सव अवधिमा हुनेछन् । आतिशवाजीको लागि भने समन्वय भइरहेको उनले बताए ।

तामझाम र भीडभाड नगरीकन पोखरा खुलै भएको र पाहुना स्वागत गर्न पर्यटन व्यवसायी तयार रहेको सन्देश दिन महोत्सवलाई निरन्तरता दिएको संयोजक गौतमले जानकारी दिए । ‘स्वास्थ्य मापदण्ड पालना गरी भाइरसप्रति सचेत भई पर्यटनलाई चलायमान बनाएर व्यवसाय खुला गर्नुको विकल्प छैन,’ उनले भने । साभार इकान्तिपुरवाट

 

 

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.