विराटनगर । कोरोना महामारीका कारण थला परेको प्रदेश १ को पर्यटन व्यवसाय विस्तारै उठने प्रयासमा छ । लामो समयसम्म सिथिल अवस्थामा रहेका पयर्टकीय गन्तव्यहरुमा विस्तारै चहलपहल देखिन थालेको छ ।
पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश १ मा पहिचान गरिएका २८ वटै गन्तव्यहरुमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको उपस्थिति उत्साहजनक देखिएको छ ।
कोरोना संक्रमणको जोखिम र आम नागरिकको कमजोर क्रयशक्तिका वावजुदपनि गन्तव्य स्थलहरुमा पर्यटकहरुको चहलपहल बढेको हो । पुर्वका आकर्षक पर्यटकीय गन्तव्यहरु इलामको श्रीअन्तु हुदै धनकुटाको भेडेटार र मोरङ बेतना सिमसारसम्म आन्तरिक पर्यटकहरुको चाप वढ्न थालेको हो । यसबाहेक पाथिभरा, माईपोखरी, गुफा पोखरी, वसन्तपुर, कोशी टप्पु, रास ताल र दोमुखा लगायतका पर्यटकीय गन्तव्यहरुमा समेत चहलपहल वढेको छ । अन्तराष्ट्रिय सीमा नाकाहरु बन्द हुँदा बाह्य पर्यटकहरुको आगमन हुन सकेको छैन् । पर्यटन क्षेत्रको पुनरुत्थानका लागी अन्तराष्ट्रिय सीमा नाकाहरु खोल्नुपर्ने पर्यटन व्यवसायीहरुको माग छ ।
पछिल्लो ४ महिनाको अवधिमा प्रदेश १ का पर्यटकीय गन्तव्यहरुमा मात्र १५ हजार बढी पर्यटकहरुले भ्रमण गरेको तथ्याङ्क छ । हुन त यो संख्या अन्य बर्षको चौमासिक तथ्याङ्को तुलनामा ७४ प्रतिशतले कम हो । आन्तरिक पर्यटन प्रर्वद्धनका माध्यमबाट मात्र दिगो पर्यटन विकास सम्भव हुने आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ का संयोजक भबिस श्रेष्ठले बताउनु हुन्छ ।
प्रदेश १ का पर्यटन व्यावसायी तथा हवाई सेवा प्रदायकहरुले पनि सस्तो र गुणस्तरीय पर्यटन प्याकेजहरु ल्याएर आन्तरिक पर्यटन प्रर्वद्धनको प्रयास गरिरहेको श्रेष्ठले वताउनु भयो । सामान्य अवस्थाको तुलनामा पर्यटकहरुको चाप र भीडभाड पनि कम भएकाले पर्यटकीय गन्तव्यहरुको भ्रमण तथा अवलोकनका लागी अहिलेको समय उपयुक्त रहेको उहाँको भनाइ छ ।