पर्यटन केन्द्र बन्दै मदन भण्डारी संग्रहालय

June 30, 2021     Paryatan Yatra

उर्लाबारी (मोरङ) । बहुदलीय जनवादका ब्याख्याता मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । सोही घटनामा जीवराज आश्रितको पनि ज्यान गएको थियो । भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तीन दिनपछि भेटिएको थियो ।
भण्डारीको मृत्युपछि २०५० सालमा मदन भण्डारी स्मृति प्रतिष्ठानको स्थापना भएको थियो । सोही प्रतिष्ठानले भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक जीवन झल्काउने सामग्री समेटेर उर्लाबारीमा मदन भण्डारी संग्रहालय निर्माण गरिएको छ । मदन भण्डारीको जन्मदेखि मृत्युसम्मका सम्बन्धित चिजहरु संग्रहालयमा समेटिएको छ । संग्रहालयको २०७४ सालमा राष्ट्रपति तथा मदनकी पत्नी विद्यादेवी भण्डारीले उदघाटन गनु भएको हो । पुरातत्व विभागको आर्थिक सहयोगमा करिब तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय निर्माण गरेको हो । संग्रहालय भवन भूकम्प प्रतिरोधात्मक क्षमताको तीन तले छ भने जसमा १६ कक्ष रहेका छन् ।
संग्रहालय प्रवेशद्वारमा भण्डारी र उनी जन्मिएको ताप्लेजुङको ढुंगेसाँघु गाउँको तस्बिर र दुर्घटनामा परेको बा.अ.च. ८७९३ नम्बरको जीप राखिएको छ । संग्रहालय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा उनको व्यक्तित्व झल्काउने दश मिनेटको श्रव्यदृश्य प्रदर्शनी छ । त्यसमा नेता भण्डारी पहिलो पटक सात सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएको लगायतका गतिविधि देखाइएको छ ।
वि.सं २०१७ को फौजी काण्ड, जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ सालमा भएको नेत्र गुरागाईंको हत्या, २०२१ सालमा भएको क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ सालमा भएको झापा विद्रोह र त्यसपछि उत्पन्न भएको क्रान्तिलाई नेता भण्डारीले सुक्ष्म रुपले अध्ययन गरी नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक दिशा निर्धारित गरेको संग्रहालयमा चित्रण गरिएको छ ।
यस्तै, संग्रहालयमा पार्टी एकीकरण कक्षका दुईवटा सिसाका शोकेस छन् जसमा विभिन्न कम्युनिष्ट समूहको एकीकरण प्रक्रिया र मोरङको इटहरा (हाल रतुवामाई नगरपालिका) मा तत्कालिन नेकपा (माले) गठनसँग सम्बन्धित श्रव्यदृष्य सामग्रीसमेत राखिएको छ । सङ्ग्राहलयमा जनवर्गीय संगठनको पुनर्गठन तथा निर्माण एवं विभिन्न आन्दोलनको परिचालनदेखि लिएर पञ्चायतमा भएको हस्तक्षेप तथा यसका उपलब्धिसँग सम्बन्धित सामग्री राखिएको छ । संग्रहालयमा सिरहा जिल्लाकोे विष्णुपुरकट्टीमा २०४६ भदौ ९–१४ मा भएको तत्कालिन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित विवरण राखिएको छ जसले भण्डारीलाई पार्टीको महासचिवमा सर्वसम्मतिले चयन गरेको थियो ।
दोस्रो तलामा सोकेसभित्र नेता भण्डारीको निजी प्रयोगका घडी, टोपी, चप्पल, लुङ्गी, ज्याकेट, मोजा, जुत्ता, रेडियो, भाँडाबर्तन, औजार, चश्मा, डायरी, कलम, बुबाआमालाई लेखिएको चिठ्ठी आदि राखिएको छ । संग्रहालयमा मोरङको इटहरास्थित घरको प्रतीकसहित जननेता भण्डारीले प्रयोग गरेको साइकल राखिएको छ । संग्रहालयमा भण्डारीको काठमाडौंको नक्सालस्थित डेरा र अध्ययन कक्षको पनि प्रतिकृति बनाइएको छ जसले नेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज हुनेछ । संग्रहालयमा नेता भण्डारीले त्यसबेला प्रतिनिधिसभामा खेलेको भूमिकासँग सम्बन्धित सामग्रीको प्रस्तुतीकरण तथा नेपालसँग भएका विभिन्न असमान सन्धि सम्झौतासँग सम्बन्धित रहेर राष्ट्रियताका विषयमा उनले लिएको अडानसम्बन्धी सामग्री पनि राखिएका छन् ।
संग्रहालयमा दास ढुङ्गा दुर्घटना पूर्व पोखराको सभागृह, दास ढुङ्गा गाडी गुड्ने सडक तथा गाडीको चित्राङ्कन, सडकदेखि त्रिशुली नदीसम्मको भिरालोमा गाडी दुर्घटना भएको ठाउँ, त्रिशुलीको भेलमाथि हेलिकप्टरसहितको टोलीले नेता भण्डारीको खोजी, दुर्घटनाग्रस्त गाडी त्रिशुलीबाट क्रेनको सहाराले निकाल्दै गरेको दृश्य, नेता जीवराज आश्रितको शवको अवस्था, चितवनको गाँजीपुरस्थित त्रिशुलीको बगरमा नेता भण्डारीको शव, त्यसताका रेडियो नेपाल र नेपाल टेलिभिजनको घटनाबारेको समाचारको अंश, दशरथ रङ्गशीला श्रद्धाञ्जली सभादेखि आर्यघाटसम्मको शवयात्राका तस्बिर राखिएको छ ।
यस्तै, संग्रहालयको सो कक्षमा मधुर आवाजमा शोक धून पनि सुन्न सकिनेछ । नेता भण्डारीको रहस्यमय दुर्घटनापछि बनेका आयोग, तिनका प्रतिवेदन र जनप्रतिक्रियालाई पनि राखिएको छ । यहाँ सबै दुर्घटना छानबिन आयोगसँग सम्बन्धित पदाधिकारी तथा सदस्यसमेतको तस्बिरसहितका प्रतिवेदन रहेका छन् । तेस्रो तलामा सुविधासम्पन्न सभाकक्ष छ । त्यहाँ मल्टिमिडिया प्रोजेक्टरबाट नेता भण्डारीसम्बन्धी वृत्तचित्र प्रदर्शनका साथै जनताको बहुदलीय जनवाद (जबज) को पाठशाला राखिएको छ ।
सभाकक्ष नजिकै अर्को कक्षमा पुस्तकालय रहेको छ । उक्त पुस्तकालयमा नेता भण्डारीका सम्बन्धमा विस्तृत रुपमा अध्ययन गर्न चाहनेले विभिन्न अध्ययन सामग्री प्राप्त गर्न सक्नेछन् । संग्रहालय अवलोकन गरेर भुईंतला ओर्लिएपछि दासढुङ्गा दुर्घटना हुँदा नेता भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख आश्रित चढेको दुर्घटनाग्रस्त जीप राखिएको छ । भण्डारीको जन्मदेखि मृत्युसम्मका सामग्रीहरु संकलन गरेर राखिएकोले खोज अनुसन्धान गर्नेहरुका लागि यो संग्रहालय महत्वपूर्ण हुनसक्छ ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.