तिम्बुङ पोखरी क्षेत्रमा ‘टुरिस्ट हाउस’ निर्माण

September 11, 2021     Paryatan Yatra

फुङ्लिङ कोभिड–१९ का कारणले पर्यटन क्षेत्र प्रभावित भए पनि आगामी दिनमा पर्यटक भित्र्याउन ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक घर (टुरिस्ट हाउस) निर्माण गरिएको छ ।

तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि गाउँपालिकाले पर्यटक आवास घर निर्माण गरेको हो । पाँचथर र भारतको सिक्किमसँग सिमाना जोडिएको सिदिङ्वा–१ कालिखोलामा रहेको तिम्बुङ पोखरी नेपालको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत छ ।

पूर्वको गोसाइँकुण्डको नामले समेत परिचित तिम्बुङ पोखरी चार हजार ४८० मिटरको उचाइमा छ । निक्कै नै सुन्दर तथा आकर्षक पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको आवास सुविधाका लागि गाउँपालिकाले रु ५५ लाखको लागतमा आवास भवन निर्माण गरेको हो ।

गाउँपालिकाका प्रवक्ता प्रकाश राईका अनुसार पर्यटन मन्त्रालयबाट विनियोजित रु ५० लाख र गाउँपालिकाको पाँच लाखको लगानीमा आवाससहितका संरचना निर्माण गरिएको छ । करिब तीन हजार ८०० मिटर उचाइ रहेको तिम्बुङ पोखरी क्षेत्रको नुनथला ठूलो भञ्ज्याङमा उक्त संरचना निर्माण गरिएको प्रवक्ता राईले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ४५ जना अटाउन सक्ने क्षमताको पर्यटक आवास घर, भान्सा घर र शौचालय निर्माण गरिएको छ ।

पर्यटक आवास निर्माण भएसँगै गाउँपालिकाले सञ्चालनको तयारी गरेको छ । ठेक्का (बोलपत्र) प्रक्रियामार्फत आवास वार्षिक रु ६२ हजारमा भाडामा लगाएको र अब दशैँ अघि नै सञ्चालनमा आउने पनि प्रवक्ता राईले बताउनुभयो ।

पर्यटक घर सञ्चालनमा आएपछि तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकले खानेबस्ने सुविधा पाउने छन् । हालसम्म तिम्बुङ पोखरीको भ्रमण गर्ने पर्यटकले आवासका रुपमा सो क्षेत्रमा रहेको चौंरी गोठहरुलाई सदुपयोग गर्ने गरेका थिए ।

कालीखोला र सादेवाको माथिल्लो बस्तीदेखि तिम्बुङ पोखरी पुगेर फर्कनलाई कम्तिमा तीन दिन लाग्ने हुँदा सो क्षेत्रमा रहेका सीमित चौंरी गोठमा बास बस्नुपर्ने अवस्था थियो । पर्यटक आवास घर बनेपछि भने बाह्य तथा आन्तरिक पर्यटकलाई सुविधा हुने भएको गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङले बताउनुभयो ।

पर्यटक अवागमन सहज गर्न तिम्बुङ पोखरी जाने पदमार्गको पनि स्तरोन्नति गरिएको छ । विगत दुई वर्षयता पर्यटन मन्त्रालयकै सहयोगमा पर्यटक आवास घरसहित तिम्बङ पोखरीको सौन्दर्यकरण, पदमार्ग स्तरोन्नतिको कार्य गरिएको ताम्लिङले बताउनुभयो । मन्त्रालयको सहयोग र गाउँपालिका समेतको साझेदारीमा पर्यटकलाई आराम लिनका लागि पदमार्गको ठाउँ–ठाउँमा विश्रामस्थल समेत निर्माण गरिएको छ ।

तिम्बुङ पोखरी क्षेत्रमा धार्मिक आस्थाका हिसाबले समेत हरेक वर्ष नाग पञ्चमीका दिन उल्लेख्य रुपमा आन्तरिक पर्यटकहरु पोखरीको भ्रमण तथा दर्शनमा पुग्ने गरेका छन् । सुन्दर तथा मनमोहक दृश्य, जडिबुटी, चौंरीपालन, रेडपान्डालगायतको अध्ययन अवलोकन गर्नलाई आन्तरिक तथा विदेशी पर्यटकले तिम्बुङ क्षेत्रको भ्रमण गर्ने गरेका छन् । साभारः गोरखापत्र अनलाइनबाट

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.