प्रदेश १ का चार नाकामा भारतीय पर्यटक भित्र्याउन छलफल

February 20, 2022     Paryatan Yatra

विराटनगर । ईष्ट टरिजम मार्ट नजिकिँदै गर्दा प्रदेश १ मा पर्यटन व्यवसायीको गतिविधि बढेको छ । प्रदेश १ को पर्यटन प्रवर्द्धन गर्ने सन्दर्भमा पर्यटन तथा ट्राभल व्यवसायीले काँकडभिट्टा, पशुपतिनगर, विराटनगर सहित सुनसरीका सीमावर्ती क्षेत्रका व्यवसायीहरुसँग अन्तरक्रिया तथा छलफल गरेको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मी सहितको टोलीले भारतीय सीमासँग जोडिएर सञ्चालनमा रहेका नेपाली ट्राभल व्यवसायीसँग भारतीय पर्यटक नेपाल भित्र्याउने बारेमा छलफल भएको थियो । आगामी चैत ११ देखि १३ गतेसम्म सुनसरीको धरानमा सञ्चालन हुन गइरहेको ‘इष्ट टुरिजम मार्ट’लाई सम्पन्न गराउने बारेमा भइरहेको तयारी र सफल बनाउन आवश्यक सहकार्यको बारेमा टोलीले छलफल गरेको छ।

झापाको काँकडभिट्टा, मोरङको विराटनगर सुनसरीको धरान  तथा इलाम जिल्लाको श्रीअन्तु, इलाम बजार र पशुपतिनगरका  व्यवसायीसँग अन्तरक्रिया र छलफल गरेको पर्यटन व्यवसायी भविश श्रेष्ठले जानकारी दिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीले पर्यटनको क्षेत्रमा बोर्डले लगानी गर्ने भए पनि पर्यटक खोज्ने काममा व्यवसायी लाग्नु पर्ने बताए ।

उनले सिमानाकामा विदेशीहरूलाई चेकजाँचदेखि विभिन्न बहानामा दुःख कष्ट दिने गरेको बारेमा तत्काल समस्याको समाधान नहुने हो भने पर्यटन भित्र्याउन समस्या हुनेमा जोड दिए । ‘यस विषयमा अध्यागमन, प्रहरी प्रशासन स्वमय् पर्यटन व्यवसायीहरूले पर्यटकहरूलाई कस्तो व्यवहार गर्ने भन्ने स्पष्ट हुनु पर्छ’, रेग्मीले भने, ‘अहिले भइरहेका व्यवहारहरू राम्रा खालका छैनन्, त्यसलाई सुधार गर्नुपर्छ ।’

भारतीय पर्यटकका सवारी साधनहरू एक पटक चेकजाँच गरिसकेपछि ‘ग्रीनस्किटर’ लगाइदिनुपर्ने र ‘ग्रीनस्किटर’ लगाइदिएपछि कहीँ कतै चेक गर्नुखखनपर्ने व्यवस्था गर्नुपर्ने बताए । अब नेपाली सवारी साधनहरूलाई समेत निर्वाधरुपमा भारतसम्म कसरी पठाउन सकिन्छ त्यस विषयमा सबै लाग्नुपर्ने भन्दै उनले नीतिमा परिवर्तन आवश्यक परे गर्नुपर्ने समेत बताए ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईँले पर्यटन बोर्डले गर्ने हरेक काममा संस्थाको साथ सहयोग रहने बताए ।  ‘इष्ट टुरिजम मार्ट’ सफलरुपमा सम्पन्न गर्न सबै लाग्ने बताए । नाकालाई व्यवस्थित बनाएर पर्यटकहरूलाई अधिक भन्दा अधिक पर्यटकियक्षेत्रका बारेमा जानकारी प्रदान गर्न सक्नु पर्नेमा उनले जोड दिए ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठले हरेक वर्ष हुँदै आएको ईष्ट टुरिजम मार्टले यो वर्ष पनि देश भित्र र बाहिरका पर्यटक भित्र्याउन सफल हुने बताए ।  कार्यक्रममा सहभागी अधिकांश पर्यटन व्यवसायीले पर्यटकको भरमा चलेका होटल तथा पर्यटन व्यवसायी समस्यामा परेको बताएका थिए ।

थला परेको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि  पूर्वाधारको विकास गर्नुपर्ने बताए । ट्रेकिङ, होटल, होमस्टे, पर्यटकीय मनोरञ्जनसहितका पर्यटकीय गतिविधि चलायमान हुन नसकेको उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश पर्यटन समिति संयोजक भविशकुमार श्रेष्ठको भनाई थियो । साभार: मकालुखबर

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.