धरानमा तीन दिने ‘इस्ट टुरिजम मार्ट-२०२२’ हुने

March 14, 2022     Paryatan Yatra

धरान : कोरोना महामारीले थलिएको पूर्वको पर्यटन व्यवसायलाई चलायमान बनाउनका लागि धरानमा ३ दिने इस्ट टुरिजम मार्ट २०२२ हुने भएको छ ।

पूर्वका पर्यटन व्यावसायीहरुले पूर्वमा पर्यटन व्यवसायलाई चलायमान बनाउन आउँदो चैत ११, १२ र १३ गते धरानको पब्लिक हाई स्कुलको खेलमैदानमा इस्ट टुरिजम मार्ट हुने आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

यस भन्दा अघि धरानमा दुई पटक सन् २०१८ र २०१९ मा इस्ट टुरिजम मार्ट सम्पन्न भएको थियो । पछिल्लो समय कोरोना महामारीको कारण रोकिएको इस्ट टुरिजम मार्ट २०२२ यस पटक हुन लागेको हो ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुन लागेको मार्टलाई धरान नगरपालिकाले संयोजन गरेको बताइएको छ । कार्यक्रम सम्पन्न गर्न प्रदेश १ सरकारको पनि सहयोग रहेको इस्ट टुरिजम मार्टका संयोजक भविष श्रेष्ठले बताए ।

निजी क्षेत्रका व्यवसायीहरूद्वारा गठित इष्ट टुरिजम मार्ट आयोजक समितिले आयोजना गर्ने मार्टमा भारतको सिक्किम, बङ्गला, विहार सम्मका पर्यटनकर्मी तथा होटल व्यवसायी र सञ्चारकर्मी गरी १ सय जनाको सहभागिता हुने बताइएको छ ।

विगतमा सीमित क्षेत्र र स्थानमा मात्रै भइरहेको मार्टमा यस पटक खुल्ला मैदानमा गर्न लागिएको र स्थानीय संस्कृति, विभिन्न जाति खानाका परिकारहरू र गीत सङ्गीतका पारखीहरूलाई साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रम पनि गरिने संयोजक श्रेष्ठले बताए ।

यस पटकको मार्टलाई अझ भव्य बनाउन धरान जेसीजको समेत साथ रहेको बताइएको छ । धरान जेसीजले मार्ट अवधिभर पब्लिक हाई स्कुलको मैदानमा जातीय परिकार र होटल मेनेजमेण्ट अध्यापन हुने कलेजहरूको आधुनिक परिकार रहने फुड फेस्टिभल आयोजना गर्नेछ ।कार्यक्रम अवधिभर सांस्कृतिक कार्यक्रम समेत आयोजना हुनेछ । मार्टमा प्रदेशका व्यवसायी प्रदेश बाहिरका व्यवसायी गन्तव्यहरू लगायतका एक सय स्टल रहने छन् ।

मार्टमा भारतीय सीमा क्षेत्रका मेयरहरू र पटनाबाट साइक्लिष्टहरु पनि आउने र उनीहरूलाई धरानका साइक्लिष्टहरुले स्वागत गरेर यहाँको पर्यटकीय क्षेत्रहरूको बारेमा जानकारी दिने बताइएको छ । कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले ३० लाख र धरान उपमहानगरपालिकाले ५ लाख सहयोग गरेको छ ।

निकै लामो समय सम्म पर्यटन व्यवसाय थलिए पछि पहिलो पटक पूर्वका पर्यटन व्यवसायीले आयोजना गर्न लागेको इस्ट टुरिजम मार्ट २०२२ लाई भव्यरुपमा सम्पन्न गर्नका लागि पूर्वको इलाम स्थित पशुपतिनगर, काँकडभिट्टा र जोगवनी नाकामा आकर्षक स्वागतद्वार पनि बनाइने बताइएको छ । विभिन्न ठाउँबाट मार्टमा धरान आइपुगेका पर्यटकहरूलाई धरान, इटहरी र भेडेटारका होटलहरुमा राख्ने योजना रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा इस्ट टुरिजम मार्टका प्रवक्ता बासु बराल, सचिव एलिना मगर, कोषाध्यक्ष नारायण लिम्बु, धरान उपमहानगरपालिकाका खगेन्द्र खतिवडा लगायतको उपस्थिति रहेको थियाे ।

साभार कपुरी न्युज

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.