संखुवासभा घुम्दै हुनुन्छ ? नुनढाकी छुट्ला है

June 22, 2022     Paryatan Yatra

चैनपुरः मकालु हिमाल, सभापोखरी, अरुण उपत्यका, गुफापोखरी देखी अनेक राष्ट्रिय स्तरका पर्यटन क्षेत्र भएको जिल्ला संखुवासभा घुम्न नचाहने को होला? तपाइ पनि यदि घुमन्ते हुनुन्छ भने संखुवासभा घुम्नै हुनेछ । वा घुमिसक्नु भयो ।

संखुवासभा पुगेर नछुटाउनुपर्ने एक ओझेलमा रहेको गन्तव्य नुनढाकी हो । नुनढाकी संखुवासभाको चैनपुरबाट आधा घण्टाको सडक दुरीमा पुग्न सकिन्छ । गुराँसको राजधानी मिल्के र गुफाबजार क्षेत्रबाट पनि आधा देखी पौने एक घण्टा ओरालोमा नुनढाकी पुगिन्छ । चैनपुरबाट जाँदाको सडक केही राम्रो छ । मिल्के र गुफाबजार क्षेत्रबाट भने  सबै सडक कच्ची छ । बाइक, साइकल र फोरविल गाडीबाट मात्रै सहजरुपमा जान सकिन्छ ।

नुनढाकीको रोचक पक्ष भनेको यसको आसपास हुने विभिन्न आकर्षक गन्तव्य र नुनढाकीको लिखित इतिहास हो । चैनपुर नगरपालिका १ मा पर्ने नुनढाकीमा एक पुरानो धार्मिक गन्तव्य छ । तातोपानी नामक गन्तव्यको लिखित इतिहास नै ४३६ बर्ष पुरानो छ ।

विसं १६४२ मा जयमान थक्लुङले स्थापना गरेको तातोपानी नुनढाकीको प्रसिद्ध धार्मिक सांस्कृतिक क्षेत्र हो । तातोपानी क्षेत्रमै शिव र सिंहका सुन्दर मूर्तिहरू निर्माण गरिएका छन् । यस्तै नुनढाकी नजिकै छ तङ्लेवा झरना । यो झरना मझौला आकारको रोचक झरना हो । यस्तै गुफापोखरी पनि नुनढाकि आसपासको गन्तव्य हो ।

नुनढाकीमा व्यवस्थित होटल भने छैनन् । यात्रामा जानेले होटलमा बस्न चाहेमा कि नुनढाकी घुमेर माथि डाँडाको गुफाबजारमा वा पल्लो पहाडी भित्ताको चैनपुर बजारमै पुग्नुपर्ने हुन्छ । तर, सामुदायिक होमस्टे भने नुनढाकीमा उपलब्ध छ । येल्लो भिल्ला नामक सामुदायिक होमस्टेमा एक दर्जन हाराहारी आगन्तुक अटाउँछन् ।

नुनढाकी संखुवासभाको हिमाल नदेखिने स्थानमा रहेको एक सुन्दर गन्तव्य भएकोले प्रचारमा लागेको बताउँछन् स्थानीय प्रेम लिम्बु । बेलायती गोर्खा सैनिक सेवाबाट अवकाश भएर गाउँमै आएका लिम्बुले नुनढाकीको प्रवर्द्धन गर्न आफ्नै अगुवाइमा नुनढाकीतातोपानी डट ओआरजी नामक वेब पोर्टल समेत सञ्चालन गरेका छन् ।

उनी भन्छन्, ‘नुनढाकीको मौलिकता र सुन्दरतालाई उजागर गर्न हामी सक्रिय छौँ । पूर्वाधार र प्रचारको काम सँगसँगै लाने हाम्रो प्रयत्न छ । सरकारतर्फको सहयोग भने निराशाजनक छ ।’ साभार नेपाल टुरिजम प्लस

 

 

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.