प्रकृतिको सुन्दरताबीच छप्की पोखरी

June 23, 2022     Paryatan Yatra

सुनसरी । यो नगरमा प्राकृतिक सुन्दरताको कमी छैन । रामधुनी नगरपालिका वडा नम्बर ९ मा रहेको छप्की पोखरी पुग्दा यस्तै अनुभव हुन्छ । पोखरी रहेको टोलको नाम नै छप्की पोखरी टोल राखिएको छ ।
झुम्का बजारबाट पश्चिमतर्फ जाने सडकको करिब ८ किलोमिटर यात्रा पुरा गरेपछि शिवनगर पुगिन्छ । त्यहीँ रमणीय छप्की पोखरी छ । पोखरीको पश्चिमतर्फ रामजानकी मन्दिर छ । यस क्षेत्रमा मानव बसोबास सुरुसँगै यो ऐतिहासिक मन्दिर स्थापना भएको स्थानीयको भनाइ छ ।
झुम्का बजारबाहेक सुनसरी जिल्ला सदरमुकाम इनरुवाबाट यो क्षेत्रमा पनि सहज रुपमा जान सकिन्छ । इनरुवाको महेन्द्र चोकबाट अटो, सिटी रिक्सा वा अन्य सवारी साधन लिएर गणेशपुर हुँदै भलुवावाट करिब ६ किलोमिटर उत्तर तर्फको यात्रा गर्ने हो भने छप्की पोखरी पुग्न सकिन्छ ।
करिब १० हेक्टरमा फैलिएको पोखरीमा डुंगा शिकार (बोटिङ्ग) गर्न सकिन्छ । आसपास बनभोजमा रमाउने स्थलहरु छन् । पार्कसहित वरिपरि रमणीय दृश्य रहेको यो क्षेत्र पर्यटकको पर्खाइमा छ ।
पोखरी जति रमणीय छ उति नै धार्मिक एवं सांस्कृतिक महत्वको पनि छ । यहाँ ग्रामथान मन्दिर पनि छ । बृक्षरोण निरन्तर गरिने भएकाले हरियाली कायम छ । सुन्दर पोथ्रापोथ्री अनि झाडी बनाएर थप आकर्षण दिने प्रया स तीव्र पारिएको छ । यो काम सकिएपछि अझ पर्यटक लोभिने वातावरण बन्ने छ ।
पोखरीको पश्चिमट्टि बालबालिकाका लागि उपयोगी हुने ‘चिल्ड्रेन पार्क’ निर्माणाधीन अवस्थामा छ । यो निर्माण सकिएपछि अभिभावकहरुसँग घुम्न गएका बालबालिका रमाउने छन् । यहाँ चिया तथा खाजा खानका लागि होटलहरु पाइन्छन् ।

 

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.