पर्यटनमा लगानी गर्न कस्सिए स्थानीय सरकार

September 6, 2023     Paryatan Yatra

ताप्लेजुङ । जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा जोड दिएका छन् ।

धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाल आरोहणमा जोड दिँदै एक नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका स्थानीय तहरुहरुले नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नेदेखि पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको पाइन्छ । फक्ताङलुङ गाउँपालिकाले कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकहरुको लागि गाउँपालिकामा पर्यटन भित्र्याउन लागि पहिलो सडक विस्तार तथा पदमार्ग निर्माणमा जोड दिएको छ । यस गाउँपालिकामा विश्वको अग्लो कञ्चनजङ्घा र कुम्भकर्ण (फक्ताङलुङ) हिमाल रहेको छ भने सिङ्जेमा ताल, करिब चार सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बा, मानभारालगायत थुप्रै पर्यटकीय स्थलहरु पर्दछ । उच्च हिमाली क्षेत्रहरुमा अक्सिजनको व्यवस्थापन, ओलाङचुङगोला बस्ती नजिकै रहेको सिङ्जेमा तालमा जाने पदमार्ग र सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापक गरिएको पालिकाका अध्यक्ष राजन लिम्बूले बताए । उनका अनुसार दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने रणनीतिक तथा व्यापारिक महत्वको निर्माणाधीन तमोर कोरिडोरको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ भने कञ्चजङ्घा हिमाल प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका—घुन्सा बस्तीसम्म मोटरबाटो विस्तार गर्ने कार्यक्रम रहेको छ । मध्यपहाडी भूभाग हुँदै भारतको जोगबनीलाई चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्नेछ । तमोर कोरिडोरमार्फत यसै आर्थिक वर्षमा भारत, नेपाल र चीन सडक सञ्जालले जोड्ने छ । पर्यटकीय क्षेत्रहहरुको सहज जानकारी उपलब्ध गराउनका लागि पर्यटन सूचना केन्द्र स्थापना गरिने भएको छ । चीनसँग कोरिडोरले जोडिएसंगै फक्ताङलुङ गाउँपालिका मात्र नभएर जिल्लामै ठूलो पर्यटकहरु चहलपहल हुने ताप्लेजुङवासीको अपेक्षा गरेका छन् ।

जिल्लाकै एक मुख्य पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको मिक्वाखोला गाउँपालिकामा अविरल झरिहरने फुङ्फुङ्गे झर्ना जिल्लाकै एक पर्यटकीय गन्तव्यभित्र पर्दछ । अर्को पालिका केन्द्रदेखि नजिकै रहेका वाक्मा पोखरी पनि यस क्षेत्रको पयटकीय क्षेत्रमा पर्दछ । गाउँपालिका केन्द्र नजिकै रहेको पोखरीहरुको राजधानी भनिने लोदेन क्षेत्र यसै गाउँपालिकामा पर्दछ । समुद्र सतहदेखि चार हजारदेखि माथि रहेको यस क्षेत्रमा लाम पोखरी, कुइने पोखरी, हाँस पोखरी, सुन पोखरी, भूत पोखरीलगायत एक सयभन्दा बढी पोखरी रहेको छ । यस क्षेत्रमा पोखरीहरुको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेको स्थानीयवासी तेन्जिङ शेर्पाले बताए । त्यस्तै समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित तोक्पेगाला क्षेत्र अर्को प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । तोक्पेगोलामा बस्तीको दायाँ मानमोहक झर्ना रहेको छ भने बायाँतिर जोङलुङ गुम्बा र धार्मिक महत्वबोकेको भूत पोखरी रहेको छ । बस्तीमाथि सोदु पोखरीलगायत दर्जनौँ पोखरीहरु रहेको छ । मिक्वाखोला गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्नका लागि समुन्द्र सतददेखि चार हजारमाथि रहेको लोदन क्षेत्रमा गोठस्टेका लागि सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले बताए । त्यस्तै धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि लिम्बू समुदायको माङहिम निर्माण गर्न पनि बजेट विनियोजन गरिएको छ । उनका अनुसार गाउँपालिका केन्द्र नजिकै रहेको फुङ्फुङगे झर्ना शृङ्गार गर्न लागि सङ्घीय सरकारबाट एक करोड बजेट विनियोजन भएको छ । सिदिङवा गाउँपालिकाको—७ मा अवस्थित देशकै प्रसिद्ध तिम्बुङ पोखरी धार्मिक तथा अन्य पर्यटकको गन्तव्यस्थल हो । यहाँको ढङ्ढङगे झर्ना, चमेरे गुफा, काबेली माङहिम र सिदिङवाधाम पनि पर्यटकीय आकर्षणका स्थलहरु हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धन गर्नका लागि २६ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिए । मैवाखोला गाउँपालिकाले बृहत पर्यटन प्रवर्द्धन गुरुयोजना तयार गरी पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ । ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल ओसाङलु पनि मैवाखोला गाउँपालिकाको एक पर्यटकीय गन्तव्य भित्र पर्दछ ।

यस क्षेत्रमा प्रमुख पर्यटकीय क्षेत्रहरुमा गुराँसको राजधानी तीनजुरे मिल्के पर्दछ । तीनजुरे मिल्के तेर्थुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल पनि हो । यस क्षेत्रमा चैत वैशाखमा महिनामा गुराँस फुल्ने गर्दछ । गुराँस फूलने समयमा गुराँसको अवलोकन गर्ने आउने पर्यटकहरुको चहलपह बढी हुने गर्दछ । मैवाखोला गाउँपालिकाले यस क्षेत्रमा गुराँस पार्क निर्माण गर्नका लागि गुरुयोजना बनाउनका लागि चालु आर्थिक वर्षमा १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताए । मेरिङदेन गाउँपालिकाको प्रमुख पयटकीय स्थलहरुमा गुराँसे पोखरी, मेरिङदेन झर्ना पर्दछ । र्याप्टिङका लागि दोभान उपयुक्त क्षेत्र मानिन्छ । त्यस्तै अन्तरिक पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले मेरिङदेन चौतारी पार्क समेत निर्माण गरेको मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकवीर हांग (डम्बर) ले बताए । त्यस्तै धार्मिक पर्यटकीय क्षेत्रहरुमा माहाछिरुङ माङगेना यक साथै विभिन्न गुम्बाहरु यस गाउँपालिकाका पर्यटकीय क्षेत्रहरु पर्दछन् । पर्यटन प्रवर्द्धन गर्नका लागि गाउँपालिकाले चालु आवमा मेरिङदेन झर्ना जाने पदमार्गका लागि १५ लाख रुपैयाँ कोशी प्रदेश सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । गुराँसे पोखरीको सुन्दर्यताका लागि गाउँपालिकाले केही रकम विनियोजन गरेको मेरिङदेन गाउँपालिका अध्यक्ष हांगामले बताए । त्यस्तै धार्मिक पर्यटन प्रवर्द्धन र मेरिङदेन चौतारी पार्क निर्माण गर्नका लागि पनि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । सदसरमुकाम फुङ्लिङ बजारदेखि नजिकै रहेको गाउँपालिका केन्द्र पाथीभरा याङवरकमा धार्मिक महत्त्व बोकेका धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । यस गाउँपालिकामा रहेका धार्मिक महत्वको पर्यटकीय क्षेत्रहरु केसामी नाम्सनी, थाप पोखरी, धर्ती भाटा तथा गुरुङ गुम्बाहरु पर्दछन् । गुम्बा निर्माण गर्न केही गोरेटो बाटो मर्मतका लागि समेत गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले बताइन् ।साभार हाम्रोमत

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.