धनकुटा उपमहानगरपालिका–५ स्थित एक अनौठो घर पर्यटक र संस्कृति प्रेमीहरूका लागि आकर्षणको केन्द्र बन्दै आएको छ ५२ चुले घर । यो घर धनकुटा बसपार्कबाट उत्तर–पूर्व दिशातर्फको बिच बजार हुँदै माथिल्लो या तल्लो कोप्चे पार गरेपछि, बिहीबारे हटिया हुँदै केही पूर्वतिर लागेपछि पुगेर भेटिन्छ ।
आठपहरिया समुदायका ५२ परिवारहरूको साझा मूल घर हो यो । यहाँ आठपहरिया समुदायको मौलिक परम्परा, सामाजिक सहकार्य र धार्मिक समर्पण एकै ठाउँमा देख्न पाइन्छ । राणा शासनकालमै निर्माण गरिएको यो घरमा आज पनि परम्परागत शैलीमा जीवनयापन हुने गरेको छ । प्रत्येक वर्ष कार्तिक पूर्णिमादेखि १५ दिनसम्म यहाँ ‘वडाङगी’ पर्व धूमधामका साथ मनाइन्छ । पर्वको सुरुवात ५२ चुलोको घरमै “माङ्ग उठाउने” नामक विशेष दैविक आब्हानसहित हुन्छ, जसपछि मात्र सम्पूर्ण आठपहरिया समाजमा चाडको सुरुवात मानिन्छ । यस अवसरमा ढोल बजाइने, सामूहिक पूजाआजा र सांस्कृतिक कार्यक्रमहरू गरिन्छन् ।
धनकुटाको ५२ चुलोको घर केवल एक घर होइन । यो एक जीवित सङ्ग्रहालय हो, जहाँ संस्कृतिको धड्कन अझै पनि घन्किरहेको छ । पूर्वी नेपाल घुम्ने यात्रामा यो स्थललाई छुटाउनु हुँदैन । यहाँको सांस्कृतिक सम्पदा हेर्नु, बुझ्नु र सम्मान गर्नु आजको पुस्ताको दायित्व पनि हो ।