बिहारतिरको ४० डिग्री नाघेको तापक्रम, अनि छोटो दूरीकै यात्रापछि पाइने नेपालको पूर्वी पहाडको चिसो मौसम। आजभोलि यही चिसोले तानिरहेको छ भारतीयहरूको मन। जोगबनी र रानी नाका हुँदै धनकुटाको भेडेटार पुग्दा सबैलाई एउटा छुट्टै संसारमा आइपुगेको आभास हुन्छ। कुहिरोले ढकमक्क छोपेको डाँडा र सिरसिर चल्ने चिसो हावामा थुक्पाको स्वाद लिँदा सबैले बिहारको उकुसमुकुस गर्मी भुल्छन्।
यतिबेला कोशी प्रदेशका पहाडी गन्तव्यहरू हजारौँ भारतीय पर्यटकका लागि गर्मी छल्ने सबैभन्दा आकर्षक गन्तव्य बनिरहेका छन्। तर, भारतीय पर्यटकको यो ओइरोलाई केवल ‘आगमन’मा मात्र सीमित नराखी प्रदेशको दिगो आर्थिक समृद्धिसँग कसरी जोड्ने भन्ने ठूलो चुनौती यतिबेला खडा भएको छ।
कोशी प्रदेश भारतीय पर्यटकका लागि केवल मौसम परिवर्तन गर्ने थलो मात्र होइन। खुला सिमाना र भौगोलिक निकटता (बिहार, बङ्गाल र सिक्किमसँग जोडिएको) का कारण यहाँको पर्यटनले धार्मिक, स्वास्थ्य र मनोरञ्जनात्मक आयाम पनि समेटेको छ। सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरा धाम भारतीय श्रद्धालुहरूको प्रमुख गन्तव्य हुन्। जेठ र असारमा मात्रै बराहक्षेत्रमा करिब ५ लाखले दर्शन गरे, जसमा ठूलो हिस्सा भारतीयको थियो।
इलामको कन्याम र अन्तुडाँडाले प्रकृतिका पारखीहरूलाई तानिरहेका छन् भने विराटनगर र काँकडभिट्टामा खुलेका सुविधासम्पन्न होटेल तथा क्यासिनोहरूले खेल पर्यटनमार्फत युवा पुस्तालाई आकर्षित गरिरहेका छन्। पछिल्लो समय नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन र पर्यटकको ग्राफ निकै उत्साहजनक छ। भन्सार विभाग र पर्यटन प्रहरीको तथ्याङ्कले कोशी प्रदेशमा भारतीय पर्यटकको निर्भरता कति छ भन्ने स्पष्ट पार्छ। काँकडभिट्टा नाकाबाट साउनदेखि जेठ मसान्तसम्म मात्रै करिब १ लाख ५४ हजार पर्यटक भित्रिएका छन्। जेठ मसान्तसम्म अस्थायी पैठारीमार्फत ८६ हजार ५२ वटा सवारीसाधन दर्ता भएका छन्, जसबाट करिब २ लाख भारतीय नेपाल प्रवेश गरेको अनुमान छ।
विराटनगर र मेची भन्सार कार्यालयका अनुसार चैतयता विराटनगरबाट ६ हजारभन्दा बढी साना सवारी र ४ हजारभन्दा बढी मोटरसाइकल भित्रिएका छन् भने मेची र सुनसरी भन्सारबाट पनि हजारौँको सङ्ख्यामा पर्यटक प्रवेश गरिरहेका छन्।
पर्यटकको आगमन जति सुखद छ, उनीहरूको बसाइ अवधि त्यति नै निराशाजनक छ। बिहान आएर बेलुका फर्किने वा एक रात मात्र बस्ने प्रवृत्तिले पर्यटनको वास्तविक आर्थिक लाभ लिन सकिएको छैन। पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठका अनुसार पर्यटकलाई लामो समय टिकाउन नसक्नुमा निम्न कारणहरू बाधक छन्। यहाँका जीर्ण पूर्वाधारले पर्यटकहरू हैरान हुन्छन्। हलेसी, बराहक्षेत्र र पाथीभराजस्ता प्रमुख धार्मिक गन्तव्यसम्म पुग्ने सडक निकै कष्टकर र जोखिमपूर्ण छन्। अर्कोतर्फ प्राकृतिक दृश्यावलोकनबाहेक पर्यटकलाई भुलाउने साहसिक वा मनोरञ्जनात्मक गतिविधिहरूको अभाव छ। त्यति मात्र होइन, पर्यटक कुन उद्देश्यले आए भन्ने यकिन तथ्याङ्क राख्न सीमानाकाहरूमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुन सकेको छैन। कोशी प्रदेश सरकारलाई भारतमै पुगेर पर्यटन प्रवर्द्धन गर्ने स्पष्ट कानुनी अधिकार छैन। यसका लागि काठमाडौँमा रहेको नेपाल पर्यटन बोर्डकै मुख ताक्नुपर्ने बाध्यता छ।
पर्यटक बढाउन सडक मात्र बनाएर पुग्दैन, हाम्रो राजनीतिक र सामाजिक संस्कार पनि सुधार्न आवश्यक छ। राजनीतिक दलका नेताहरूले सार्वजनिक मञ्चबाट ‘राष्ट्रवाद’को नाममा भारतलाई लक्षित गरी दिने कडा अभिव्यक्ति र सीमानाकामा सुरक्षा जाँचको नाममा दिइने अनावश्यक सास्तीले पर्यटकको मानसिकतामा नकारात्मक असर पुर्याइरहेको छ। “पाहुनालाई गाली गरेर पर्यटन फस्टाउँदैन,” व्यवसायीहरूको साझा बुझाइ छ।
आगामी आर्थिक वर्षलाई ‘कोशी भ्रमण वर्ष’का रूपमा मनाउने प्रदेश सरकारको तयारी छ। भारतीय विद्यार्थीलाई ‘ब्रान्ड एम्बेसडर’ बनाउनेदेखि लक्षित कार्यक्रमहरू गर्ने योजना अघि सारिएको छ।
भेडेटारको चिसो कुहिरो र नेपालीको न्यानो आतिथ्यले मात्र अबको पर्यटन धान्न सक्दैन। यसका लागि सडक सञ्जालको स्तरोन्नति, सीमानाकामा झन्झटमुक्त प्रवेश र बसाइ लम्ब्याउने नयाँ पर्यटकीय गतिविधिहरूको विकास अपरिहार्य छ। अबको लक्ष्य भारतीय पर्यटकलाई ‘क्वान्टिटी’बाट ‘क्वालिटी’मा बदल्दै प्रकृतिको यो वरदानलाई प्रदेशको दिगो आर्थिक समृद्धिसँग जोड्नु नै हो।