मौसम घुमफिरको, सयर विदेशको

September 20, 2019     Paryatan Yatra

हुन त दसैं–तिहार भनेको पारिवारिक जमघट हुने समय हो । यद्यपि चाडपर्वको फुर्सदिलो समयमा अहिले घुमफिर गर्ने प्रवृत्ति बढेको छ । यतिबेला कोही एक्लाएक्लै घुमफिरमा निस्कन्छन् त कोही परिवारसहित, कोही भने साथीसंगीहरूसँग । यस्ता घुमफिरबाट अलग किसिमको अनुभव पनि संगाल्न सकिन्छ । 

फुर्सद हुनासाथ परिवारसहित घुमफिरमा निस्कने उत्तम भौकाजी बताउँछन् । उत्तम वर्षमा कम्तीमा एकपटक युरोप, अमेरिकाको फन्को लगाइरहेका हुन्छन् । गीतकार भौकाजी भन्छन्–‘कमाइको निश्चित अंश घुम्नकै लागि छुट्याउँछु ।’ बेलामौकामा परिवारसहित तघुमफिर गर्दा नयाँ अनुभव संगाल्न पाइने, मुड फ्रेस हुने तथा देश–विदेशको रहनसहन बुझिने उनको भनाइ छ । 

सधै एकनासको जीवन पट्यारलाग्दो हुने भएकाले चाडपर्वको फुर्सदमा घुम्न निस्कनु उत्तम हुने भौकाजीको बताउँछन् । उनी व्यक्तिगत हिसाबले नै घुम्न रुचाउँछन् । बर्सेनि घुमफिरमा निस्कने हुँदा उनलाई विदेश भ्रमणमा त्यति समस्या पनि हुँदैन । 

त्यसो त विभिन्न ट्राभल एजेन्सीमार्फत पनि विदेशको सयर गर्न सकिन्छ । चाडपर्वलाई लक्षित गरेर एजेन्सीहरूले होलिडे प्याकेजसमेत सार्वजनिक गर्छन् । यतिबेला ट्राभल एजेन्सीहरूबीच आकर्षक र सुलभ प्याकेजको होड नै चल्छ । यसबाट पनि के बुझ्न सकिन्छ भने दसैं–तिहारको अवसरमा नेपालीहरू विदेश जाने चलन बढ्दै गएको छ । 

यस्ता होलिडेज प्याकेजमा कम खर्चमै विदेश घुम्न सकिने अफरहरू दिइएको छ । यसपालिको दसैं–तिहारका लागि बुकिङ खुल्ला भैसकेको छ । यस्ता प्याकेजमा जति छिटो बुकिङ गरियो त्यति नै बढी छुट एवं सुविधा पाइने ग्रेट नेपाल होलिडेजकी आउट बाउन्ड एक्ज्युकेटिभ आशा बस्नेत बताउँछिन् । 

शिखर होलिडेजकी टुर अपरेटर आश्मा महर्जनका अनुसार सिंगापुर, मलेसिया र थाइल्यान्ड एउटै प्याकेजमा पनि घुम्न सकिन्छ । यस्तो प्याकेजमा एकै पटकमा दुई–तीनवटा देश घुम्न पाइने उनको तर्क छ । 

कम खर्चमै जान सकिने, भिसा लगाउन पनि सजिलो, छोटो समयमै गएर आउन सकिने भएकाले थाइल्यान्ड नेपालीहरूको पहिलो गन्तव्य बनेको छ । फ्लाइट ज्ञानी होलिडेजका प्रबन्ध निर्देशक माधवकुमार कँडेल भन्छन्–‘बर्सेनि ७० हजार नेपाली थाइल्यान्ड घुम्न जान्छन् ।’ बाली, दुबई, सिंगापुर, मलेसिया, भारतका साथै युरोपियन देशहरू घुम्न जानेहरूको संख्या पनि बर्सेनि बढ्दैछ । कान्तिपुर होलिडेजकी म्यानेजर समृद्धि मल्ल दैनिक ६० देखि ७० जना नेपाली विदेशको सयरमा निस्कने जानकारी दिन्छिन् । 

घुमफिरको उपयुक्त मौसम 

शरद ऋतुको सुन्दर मौसम । त्यसमाथि चाडपर्वको रौनक अनि फुर्सदिलो समय । यस्तो मौकामा घुमफिर गर्दा विछट्टै रमाइलो हुन्छ । त्यसैले त अहिले नेपालीहरूले घुमफिरका लागि यही मौसम रोज्न थालेका छन् । गर्मी सकिएर वायुमण्डलमा चिसो हावा चल्न थालेको यो मौसममा हिलो र झरी झेल्नुपर्दैन । त्यसैले घुमफिरका सौखिनहरूलाई यही मौसम बढी अनुकूल हुन्छ ।

यसरी विकास भयो घुम्ने संस्कृति 

विदेशीहरू घुमफिरलाई जीवनशैलीकै एउटा हिस्सा मान्छन् । उनीहरू बर्सेनि नयाँ–नयाँ ठाउँ घुम्न निस्कन्छन् । यद्यपि सीमित आयका भरमा खर्च टार्नै मुस्किल नेपाली समाजमा घुमफिरको संस्कार त्यति राम्रोसँग फस्टाएको पाइँदैन । व्यापारी एवं संभ्रान्त परिवारका सदस्यहरू नियमित घुमफिरमा निस्किए पनि सामान्य नेपालीले आफ्नो वार्षिक तालिकामा घुम्ने समय छुट्याएका हुँदैनन् । 

विदेशीहरू नेपाल आएर घुम्न थालेपछि भने नेपालीहरू आफ्नै मुलुक र विदेश घुम्न जान थालेको पाइन्छ । यसको सुरुवात चाहिँ सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले प्रथम पटक सगरमाथा आरोहण गरेपछि भएको हो । हिलारी र तेन्जिङ सेर्पाले सगरमाथा आरोहण गरेपछि विश्व समुदायको ध्यान नेपालतर्फ तानियो । त्यसपछि विदेशी पर्यटकहरू हिमाल हेर्न तथा चढ्न आउने क्रम सुरु भयो । यसरी नेपाल घुम्न आउने पर्यटकहरूबाटै नेपालीहरूमा पनि घुम्ने संस्कृति विकास भएको मानिन्छ । 

नेपालीहरू चाडपर्व वा फुर्सदमा घुम्न रुचाउँछन् । यससँगै पर्यटन प्रवद्र्धनका लागि गाउँ–गाउँमा महोत्सव गर्न थालियो, होमस्टेहरू संचालन हुन थाले । यसले आन्तरिक तथा वाह्य पयर्टनमा टेवा पुर्‍यायो । 

घुमफिरको फाइदासांस्कृतिक आदानप्रदान

नेपालीहरू विदेश गएर आफ्नो मुड मात्र फ्रेस बनाउँदैनन् विदेशमा आफूले देखेका, बुझेका नयाँ कुरा पनि आफूसँगै भित्र्याउँछन् । विदेशी खानपान, रहनसहन, कला–संस्कृति आफूसँगै संगालेर फर्कन्छन् । त्यसैगरी विदेशमा आफ्नो चिनारी पनि छाडेर फर्कन्छन् । 

हुन त घुमफिर गर्नु भनेको धेरै कुरा सिक्नु, जान्नु र बुझ्नु पनि हो । घुम्ने संस्कारले नयाँ–नयाँ कुरा सिक्ने र बुझ्ने अवसरसमेत प्राप्त हुन्छ । एउटा व्यक्ति वा परिवारले सिकेका थुप्रै कुरा समाजले पनि सिक्छ । यसरी फरक भूगोलको रहनसहन एवं संस्कृतिबाट धेरै कुरा सिक्ने मौका मिल्छ । 

भिजिट भिसामा विदेशको फन्को 

भिजिट भिसामा हजुर भिजिट भिसामा

भुइँ छाडेर उड्ने हजुर पश्चिम दिशामा

विदेशीहरू नेपाल घुम्न आउँछन्, यसैगरी नेपालीहरू विदेश घुम्न पुग्छन् । नजिकको गन्तव्य मात्र होइन, समुद्रपारका मुलुकमा समेत नेपालीहरू घुम्नकै लागि पुग्ने गरेका छन् । हुन त भिजिट भिसा बनाएर कतिपय नेपाली आ–आफ्नै कामधन्दाका लागि पनि विदेश जान्छन् । कतिपयले भिजिट भिसाको दुरुपयोग समेत गरेका छन् । यद्यपि विशुद्ध भ्रमणकै लागि विदेश पुग्ने नेपालीहरू पनि कम छैनन् । 

बाली 

अहिले नेपालीहरूको सर्वाधिक आकर्षकको गन्तव्य हो–बाली । प्रकृति र संस्कृतिको मिश्रण बाली इन्डोनेसियाको एउटा टापु हो, जहाँबाट समुद्री सौन्दर्यको आनन्द लिन सकिन्छ । बाली विश्वकै सुन्दर समुद्री तटमध्ये एक हो । अनन्तसम्म फैलिएको नीलो समुद्र हेर्दै त्यसैको छालसँग खेल्नु भूपरिवेष्टित मुलुकका बासिन्दाहरूका लागि नौलो अनुभव पनि हो । यही नौलो अनुभव संगाल्न थुप्रै नेपाली बाली पुग्ने गरेका छन् । 

विश्वकै उम्दा पर्यटकीय गन्तव्यमा पर्ने बालीमा घुम्न योग्य थुप्रै ठाउँ छन् । वाङदुङ पर्वतमा देखिने ज्वालामुखीको लाभा होस् वा समुद्री किनारमा बनेका प्राचीन मठ–मन्दिर बालीका लोभ्याउने दृश्य हुन् । 

फ्लाइट ज्ञानी होलिडेजका प्रबन्ध निर्देशक कँडेल भन्छन्–‘बाली घुम्नका लागि हनिमुन कपलहरू बढी जाने भए पनि अहिले परिवारसहित घुम्न जाने ट्रेन्ड बढ्दो छ ।’ 

टुर प्याकेजअन्तर्गत बालीका मुख्य–मुख्य ठाउँहरू घुमाइन्छ । यसमा समुद्रको सयरदेखि समुद्री खानपानको स्वाद लिन सकिन्छ । प्रसिद्ध मन्दिरहरू उलुवतु टेम्पल, तनह लोट टेम्पल, तिरता टेम्पल, उबुद, किन्तामणि बालीका थप आकर्षण हुन् । 

कति खर्च लाग्छ ? 

टुर प्याकेजअन्तर्गत बालीमा ४ रात ५ दिन घुमफिर गर्दा औसत ७० हजारदेखि ८० हजार रुपैयाँसम्म लाग्छ । यो एक जनाको खर्च हो । यसमा हवाई टिकट, खानपानदेखि त्यहाँ घुम्नेसम्मको खर्च समावेश छ । दम्पती वा परिवारसहित घुम्न जानेहरूलाई केही छुटको व्यवस्था हुन्छ भने ट्राभल एजेन्सी तथा आफूले उपभोग गर्ने सुविधाअनुसार उक्त रकममा थपघट हुनसक्छ । 

थाइल्यान्ड, बैंकक

कम खर्चमा विदेश घुम्न जानेहरूका लागि थाइल्यान्ड उपयुक्त गन्तव्य हो । दक्षिण–पूर्वी एसियाको यो देशले विश्वभर पर्यटकलाई आकर्षित गर्दै आएको छ । थाइल्यान्डमा राजधानी बैंकक, पटाया एवं फुकेट चर्चित गन्तव्य हुन् । 

टिकट, खाना र बसाइ सस्तो भएकाले पनि नेपालीहरू बढी थाइल्यान्ड घुम्न जाने आश्मा महर्जन बताउँछिन् । समुद्री तट, जल विहार र रात्रिजीवन नै थाइल्यान्डका खास आकर्षण हुन् । बैंककको मरिन पार्कमा प्रशिक्षित डल्फिनको कला हेर्न होस् वा रात्रिजीवनको मज्जा लुट्न बैंकक नै जानुपर्छ । यहाँ विश्वकै सबैभन्दा ठूलो खुला चिडियाघर पनि छ । 

थाइल्यान्डकै पटाया पनि पर्यटकहरूको रोजाइ गन्तव्य हो । यहाँ वाटर स्पोर्टस्देखि भूतको सुरुङ्गसम्ममा रमाइलो गर्न सकिन्छ । यसैगरी फुकेट द्वीपमा रोचक बजार, मन्दिर एवं प्राचीन सभ्यताको धरोहर अवलोकन गर्न सकिन्छ । 

कति खर्च लाग्छ ? 

खल्तीमा ४० वा ५० हजार छ भने थाइल्यान्डको फन्को लगाउन सकिन्छ । टुर प्याकेजअन्तर्गत थाइल्यान्ड घुम्न जनही ४० देखि ५० हजार रुपैंयाँ लाग्छ । यो ४ रात ५ दिन बस्ने तथा घुम्ने खर्च हो । 

थाइल्यान्डको टुर प्याकेजअन्तर्गत बैंकक, पटाया तथा फुकेट घुमाइन्छ । यसमा ब्रेकफास्ट, आउने–जाने हवाई टिकट, थ्री स्टार होटलमा बस्ने व्यवस्था तथा एयरपोर्टबाट लाने–ल्याउने सुविधा समावेश छ । यस्तो सस्तो प्याकेजमा डिनर र लन्चको व्यवस्था भने आफैले गर्नुपर्छ । 

दुबई 

आधुनिक विश्वलाई चियाउने सानो आँखिझ्याल हो–दुबई । मानव निर्मित भव्य र आश्चर्यलाग्दो संरचना हेर्न दुबई पुग्नैपर्छ । दुबई जाने मुख्य सिजन जाडोयाम हो । 

दसैं–तिहारको समय पनि दुबई घुम्न उपयुक्त हुन्छ । दुबई नेपालीहरूको श्रम गन्तव्यसमेत हो । दुबईमा किनमेलका साथै आधुनिक सभ्यतासमेत नियाल्न सकिन्छ । त्यहाँ पुगेपछि डेजर्ट सफारीको आनन्द पनि लिन पाइन्छ । 

कति खर्च लाग्छ ? 

टुर प्याकेजअन्तर्गत दुबई घुम्न कम्तीमा ७० हजार खर्च लाग्छ । यो ४ रात ५ दिन घुम्ने, खाने, बस्ने तथा हवाई यात्राको खर्च हो । 

गोवा 

समुद्री तटमा बसेर साँझको सूर्यास्त नियाल्न होस् वा समुद्री लहरहरूसँगै छालमा खेल्न, वाटर स्पोर्टस्को मज्जा लिन होस् वा समुद्री भोजनको स्वाद लिन गोवा पुग्न सकिन्छ । गोवामा करिब ४० वटा साना–ठूला समुद्री तट छन् । गोवा हाम्र लागि नजिकको गन्तव्य हो र हवाई यात्रा नगरी पनि त्यहाँ पुग्न सकिन्छ । 

अद्वितीय प्राकृतिक सौन्दर्य, प्राचीन धरोहर एवं सांस्कृतिक विविधतालाई समेटेको सानो तर सुन्दर सहर हो–गोवा । पणजी गोवाको मुख्य केन्द्र हो । मायम झिलमा नौका विहार गर्नुको आनन्द बेग्लै हुन्छ । गोवाको आम्दानीको मुख्य स्रोत पर्यटन नै हो । इको टुरिज्मले गोवाको पर्यटनमा नयाँ आयाम थपेको छ । 

खर्च 

त्यसो त गोवा पुग्न टुर प्याकेजकै नै लिनुपर्छ भन्ने छैन । व्यक्तिगत रूपमा पनि गोवाको फन्को लगाउन सकिन्छ । टुर प्याकेजअन्तर्गत ४ रात ५ दिन गोवा घुम्न ५० हजार रुपैंयाँ लाग्छ । यो हवाई मार्गबाट गोवा पुग्ने खर्च हो, यसमा बसोबास, घुमफिर र खानपानको खर्च पनि जोडिएको छ ।

सभार- सुजाता मुखिया -नारी मासीक

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.