होमस्टेले मुहार फेरेको नाम्जे गाउं

September 22, 2019     Paryatan Yatra

धनकुटा सांगुरीगढी नाम्जेका स्थानीय कृषि पेशामा आवद्ध छन् । केही वर्ष पहिले आफूले उत्पादन गरेका कृषि उत्पादन करिब १८ किलोमिटरको दुरीमा पर्ने धरान बजार पुर्याउन पर्ने बाध्यता अहिले हटेको छ । कारण हो होमस्टेको अवधारणा । वातावरणिय हिसाले विश्वको उत्कृष्ट गन्तव्य मध्ये एकमा पर्न सफल सांगुरीगढी ६ को नाम्जे गाउँ जादुमय मौसमको कारणले प्रचलित छ ।

पूर्वको प्रमुख पर्यटकिय स्थल भेडेटारदेखि छोटो दुरीमा रहेको नाम्जे अहिले शान्त वातावरण र चिसो मौसम खोज्ने पर्यटकको गन्तव्य बन्न थालेको छ । ‘पर्यटकको चाप बढ्न थालेपछि त अहिले गाउँनै अर्कै भइगयो नि ।’ होमस्टे संचलान समितिका अध्यक्ष अनिल मगरले भने ।

अहिले हमस्टेका लागि पूर्वका विराटनगर, इटहरी, धरान, लगाएत नजिकका शहरका पर्यटक बढि आउने गरेका छन् भने विभिन्न संघसंस्थाले समेत होमस्टेमै बस्नका लागि सभासमारोह गर्ने गरेको मगर बताउछन् । तराइको छोटो सवारी दुरीमा चिसो मौसममा पुग्न सकिने भए पछि धेरै जना मौसमको फाइदा उठाउन नाम्जे पुग्छन् ।

गाउंमा करिव ३५ घर रहे पनि ११ घरमा मात्र होमस्टे संचालनमा ल्याइएको छ । पर्यटकको चाप बढ्दै जानथाले पछि अहिले होमस्टे व्यवस्थापन समितिले अन्य घरमा समेत हामस्टे बिस्तार गर्ने तयारी गरेको समितिका अध्यक्ष मगरले जानकारी दिए । उनकाअनुसार गाउँमा अहिले सोलार लाइट, सहज बाटो, खानेपानी लगाएतका सुविधा उपलब्ध गराएर नाम्जेको पर्यटन विकासमा दातृ निकाय र नेपाल सरकारले सहयोग गरेका छन् ।

होमस्टेको विशेषता भनेको यहिं उत्पादन भएका स्थानिय परिकार नै हुन् । गाउंलेले उत्पादन गरेका, ताजा तरकारी तथा फलफुल खान पाउनु र स्थानिय स्वादमा रम्न पाउंदा जो कोही पर्यटक हर्षित बन्छन् । इटहरीबाट नाम्जे पुगेका नवराज सुवेदी भन्छन् ‘चिसो मौसम त छ नै यहाँबाट देखिने मनोरम दृष्य र छिनभरमै बदलिइरहने वातावरण जदु जस्तै लाग्छ ।’ उनी जस्ता धेरै पर्यटक नाम्जे पुग्न शनिवार कुर्दैनन् । उनिहरुको पहिलो रोजाइ हुन्छ लोकल काँक्रा र आलु । यहाँको स्थानीय परिकार पयटकको रोजाइमा पर्ने हुँदा गाउँलेको आम्दानी पनि बढेको छ ।  ‘पहिले सामान्य अवस्थामा जिविका चलाउँदै आएका नाम्जेका स्थानियको आम्दानी ह्वात्तै बढेको छ ।’ अध्यक्ष मगरले खुसी हुँदै सुनाए ।

पर्यटनसँग सम्बिन्धित सँघ सँस्थाले विभिन्न तालिम तथा कार्यक्रम आयोजना गरेर होमस्टे सँचालन गर्न सघाउ पुर्याएको छ । मगर समुदायको बाहुल्य भएको गाउँमा पाहुनालाई हुर्रा नाच देखाउने प्रचलन छ । जुन निकै आकर्षक रुपमा रहेको छ ।

पहिले, निकै कम सम्भावना रहेको यस स्थानमा अहिले ठूलो प्रगति भएको पर्यटनकर्मी एवम् होटल एसोसिएन आफ भेडेटारका अध्यक्ष जीतेन्द्र रुम्दाली बताउँछन् । रुम्दालीले नाम्जेको पर्यटन विकासले ठूलो फड्को मार्ने विश्वास लिएका छन् । 

सामान्य कृषि पेशामा सँलग्न रहेका नाम्जेका सर्वसाधारणको परिचय फेरिइसकेको छ । यहाँका पर्यटकिय गतिविधिले नाम्जेलाई हिजो कृषिकर्ममा आबद्ध भएको गाउँको रुपमा होइन, एक पृथक पर्यटकीय गाउँको रुपमा उभ्याएको छ ।

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.