अब पाथिभरा र हलेसी दर्शन हवाई जहाज र हेलिकप्टरबाट

November 18, 2019     Paryatan Yatra

विराटनगर, २ मंसिर । प्रशिद्ध धार्मिकस्थल र प्रदेश–१ का पर्यटकीयस्थलहरूको भ्रमणका लागि अब हेलिकप्टर र हवाई जहाजले उडान भर्ने भएका छन् ।

सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीले प्रदेश–१ का धार्मिक तथा पर्यटकीयस्थलहरूलाई केन्द्र बनाएर उडान भर्ने भएका हुन् । यही मंसिर २७ गतेबाट ताप्लेजुडको पाथिभरा र खोटाडको हलेसीलाई केन्द्र बनाएर दुवै कम्पनीले उडान भर्ने तयारी गरेका छन् ।

विराट होलिडे गुप्र र दुवै कम्पनीबीच भएको छलफलपछि सेवा सुरु गर्न लागिएको हो । छलफलमा प्रदेश–१ का पर्यटन व्यवसायीसहित सीता एयरका सञ्चालक सुुरेश राठी, प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंह, चिफ विजनेश अफिसर रिजेश थापा, माउन्टेन हेलिकप्टरका महाप्रबन्धक दिलबहादुर ओलीलगायतको उपस्थिति रहेको थियो ।

माउन्टेन हेलिकप्टरले धरानबाट सिधै पाथिभरा उडान भर्नेछ । यसैगरी हलेसी महादेवको दर्शन गर्न जान चाहने भक्तजनहरूलाई धरानबाटै हेलिकप्टरमा लगिनेछ । हेलिकप्टरले एक पटकमा ५ जना यात्रु बोक्नेछ ।

विराटनगर विमानस्थलबाट सीता एयरले पाथिभराको दर्शन गर्न जानेहरूलाई सुकेटार विमानस्थलसम्म लैजाने र त्यसपछि माउन्टेन हेलिकप्टरले पाथिभरा मन्दिरसम्म उडान भर्ने रुट तय गरिएको विराट होलिडेका अध्यक्ष भविसकुमार श्रेष्ठले बताउनुभयो । “यसो गर्दा दर्शनार्थीहरूलाई धरानबाट सिधा पाथिभरा मन्दिर जान लाग्नेभन्दा आधा खर्च लाग्नेछ,” श्रेष्ठले भन्नुभयो, “दुवै रुटमा उडानका लागि तयारी भइरहेको छ ।”

धरानबाट सिधा पाथिभरासम्मको उडान गर्दा गत वर्ष हेलिकप्टरमा प्रतिव्यक्ति ३५ हजार रूपैयाँ लिइएको थियो । सुकेटारबाट पाथिभरासम्मको हेलिकप्टरको उडान ७ मिनेटको हुनेछ । यसैगरी सीता एयरले हलेसी दर्शनमा जानेहरूलाई पनि विराटनगरबाट लामिडाँडा विमानस्थलसम्म लैजानेछ । त्यहाँबाट हेलिकप्टरले हलेसीसम्मको उडान गर्ने गरी रुट मिलाइएको श्रेष्ठले जानकारी दिनुभयो ।

सीता एयरले एक पटकमा १७ जना यात्रु बोक्नेछ । यी दुई धार्मिकस्थलबाहेक प्रदेश–१ का हिमशृंखलाका साथै अन्य पर्यटकीयस्थलहरूमा समेत कसैले जान चाहे रिजर्भ गरेर जान सक्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो सेवाले पनि एक इँट्टाा थप्ने उहाँको भनाइ थियो । “नेपाल भ्रमण वर्षलाई सफल बनाउनु हामी सबैको दायित्व हो,” उहाँले थप्नुभयो, “त्यही भएर हवाई सेवामार्फत धार्मिक र अन्य पर्यटकीयस्थल जाने व्यवस्था मिलाएका छौं ।”

All rights reserved by: paryatanyatra.com | Design by: InDesign Media Pvt. Ltd.