विराटनगर । सुनसरीको बर्जु गाउँपालिका आन्तरिक पर्यटकहरुका लागि आकर्षक गन्तव्यका रुपमा विकास भएको छ । यहाँ रहेका विभिन्न मठ मन्दिरलगायत धार्मिक स्थल, ताल, पोखरी अनि प्राकृतिक सुन्दरताले भरिएका स्थानहरु आगन्तुकलाई पर्खिरहेका हुन्छन् ।
तस्विरः नविन रेग्मी
नजिकमा पर्ने विराटनगर अनि सुनसरीका विभिन्न सहरी क्षेत्रबाट अलि पर रहेको शान्त एवं ग्रामीण जनजीवनको झल्को पाइने बर्जु क्षेत्र घुमघामका लागि उत्कृष्ट गन्तव्यका रुपमा अवस्थित छ । यो क्षेत्रमा तराइका थारुलगायत मौलिक रैथाने समुदायको बसोबास छ। थारु बहुल क्षेत्र भए पनि अरु विभिन्न जात जाति मिलेर बसोबास गरेका छन् । मिस्रित रुपमा विभिन्न समुदायको संस्कृति, पर्व अनि सांस्कृतिक पक्षहरुको रमाइलो संगमका रुपमा पनि बर्जु क्षेत्रलाई लिन सकिन्छ ।
तस्विरः नविन रेग्मी
प्रदेश १ मा पर्ने उत्कृष्ट पर्यटकीय गन्तव्यमा बर्जु ताल पर्छ । प्राकृतिक ताल, जैविक विविधता अनि चराचुरुंगीको बासस्थान भएकाले पनि यसको महत्व बेग्लै छ। सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ५ मा रहेको यो ताल पर्यटकीय दृष्टिले जति महत्वपूर्ण छ त्यसभन्दा बढी दुर्लभ चराहरु अनि सिमसारको अध्ययन लागि चर्चित छ ।
प्रदेश १ को राजधानी ऐतिहासिक नगर विराटनगरबाट १२ किलोमिटरको दूरीमा पश्चिमतर्फ रहेको यो तालले सबै उमेर समूहका आगन्तुकलाई आकर्षित गर्ने गरेको छ । बर्जु ताल क्षेत्र पुग्न विराटनगरको बरगाछीबाट कालोपत्रे सडक हुँदै पश्चिमतर्फ लाग्नु पर्छ । केसलिया खोला तरेपछि सुनसरीको बर्जु गाउँ पुगिन्छ । पश्चिमतर्फको सडक नछोडी यात्रा अघि बढाएपछि चिमडी बजार आउँछ । त्यही बजारको उत्तरतर्फ प्राकृतिक सुन्दरताबीच लोभ्याइरहेको हुन्छ बर्जु ताल ।
तस्विरः नविन रेग्मी
विराटनगरवाट सिटी रिक्सा, टेम्पोदेखि साना खाले भाडाका सवारी साधन पाउ सकिन्छ । वर्जु तालले कूल १५२ बिघा क्षेत्रफल ओगटेको छ भने यसअन्तर्गत ठूलो ताल ६० बिघा, सानो पूर्व ताल ३० बिघा र पश्चिम निर्माणाधीन अवस्थामा रहेको ३२ बिघाको ताल देख्न सकिन्छ ।
ताल क्षेत्रमा वनभोज र घुम्नका लागि आन्तरिक पर्यटक मोरङ, सुनसरी, झापा लगायतका जिल्लाबाट आउने गर्छन् । ताल क्षेत्रबाट सीमावर्ती भारतीय शहरी क्षेत्रको दूरी सरदर १२ किलोमिटर मात्र रहेकाले यहाँ भारतको जोगबनी, वीरपुर, फुल्काहा, घुस्की, बस्मतिया जस्ता क्षेत्रबाट धेरै संख्यामा पर्यटक घुम्न आउने गर्छन् ।
बर्जु तालमा साइबेरियाकदेखिका चराहरु आइपुग्छन्। विभिन्न प्रजातिका चरा हिउँदको समयमा आउने र फागुनपछि फर्कने गर्छन् । यहाँ ११५ प्रजातिका चराले चरण एवं बसोवास गर्ने गरेकाले अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायतका चरा अन्वेषक आउने गर्छन् ।
ताल क्षेत्रको वरपर सिमसार क्षेत्र भएकाले चरा, वनस्पति र जलचर जीवजन्तुुका विषयमा अध्ययनरत विद्यार्र्थी तथा शोधकर्तालाई शोध तयार गर्न उपयुक्त स्थल भएको छ । यो तालको विषयमा महाभारतमा पनि उल्लेख भएको र राजा विराटको गौशालाका गाई चर्ने चरण क्षेत्र भएको मान्यता रहेको छ । पहिले ३५० बिघा क्षेत्रफलमा फैलिएको ताल थियो ।
पर्यटकहरुलाई तालमा रमाउनका लागि १४ वटा चार सिटको डुङ्गा र एउटा ठूलो यान्त्रिक डुङ्गा छ । तालको वरिपरि घुम्ने स्थानमा पर्यटकलाई थकान मेटाउन विश्रामका लागि फलामे कुर्सीको व्यवस्था गरिएको छ । ताल क्षेत्रमा प्रवेशका लागि प्रतिव्यक्ति १० रुपैयाँ शुल्क लाग्छ । तालको चारैतर्फ बाटो, चारवटा वनभोज स्थल, शौचालय, छातासहितको ६० वटा बस्ने ठाउँ, बालबालिकाको पार्क, तालको मध्यभागमा मन्दिर र चरा बस्न आइसल्याण्ड लगायत संरचना छन् ।